काठमाडौं । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन्। उनले निवर्तमान वडाअध्यक्ष समेत रहेका रमेश नेपाललाई ३८ मतअन्तरले पराजित गरेका छन्।
एमालेको बलियो प्रभाव मानिएको ठाउँमा एकीकृत समाजवादीले खाता खोलेको हो । यद्यपि औपचारिक घोषणा हुन भने बाकी छ।
त्यसैगरी बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।
एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
त्यस्तै पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
१ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् । यस्तै राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् ।
राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।
उदयपुरगढी गाउँपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ । पालिका अध्यक्षमा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी १७ सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।
३८ सय २३ मतमणना हुँदा एमालेका गोपाल खत्रीले ११ सय ८ मत पाएका छन् । उपाध्यक्षमा पनि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जितबहादुर खड्का १२ सय ६६ मत ल्याएर अग्रता लिइरहेका छन् । एमालेकी शोभा मगर १२ सय २७ मतसहित खड्कालाई पछ्याइरहेकी छन् ।