Latest News

कांग्रेसका बागी उम्मेदवारको मत ह्वात्तै बढ्यो, गठबन्ध उम्मेदवार तेस्रो स्थानमा

Nepalese Times May 15, 2022 (2 Year ago)    1041 Views

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता ह्वात्तै बढेको छ । कांग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडी दोब्बर मतले अग्रता लिएका छन् ।

उनले ८६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेको नेकपा एमालेका शिवशंकर साहले ४६१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार बलराम महतोले २२४ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा १४५ मत ल्याएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो । महानगरमा ३२ वडा छन् ।

यस्तै मतदान सम्पन्न भएको दुई दिन बिते पनि रौतहटको बृन्दावन र माधोनारायण नगरपालिकामा मतगणना हुन सकेको छैन । आफू अनकूलका मानिस राख्ने विषयमा दलहरुबीच विवाद बढेपछि मतगणना ढिला भएको हो ।

बृन्दावन नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएपनि मतगणनाको विषयलाई लिएर दलहरुबीच विवाद बढेको छ । शुक्रबार राति सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि आफ्ना अनकुलका मानिसहरु राख्ने विषयमा विवाद बढेपछि ढिला भएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मतगणनामा बस्ने कर्मचारीको विषयमा विवाद बढेपछि ढिला भएको बताए । ‘दलहरुबीच सहमति हुनै सकेको छैन , ’ उनले भने, ‘चाडै सहमति गरेर मतदान सुरु गर्न अनुरोध गरेका छौं ।’

सुरुमा सहायक मतदान अधिकृत नागेन्द्र यादवलाई मतगणनामा राख्न नहुने एमाले र एकीकृत समाजवादी दलले अडान राखेपछि मतगणना प्रभावित भएको थियो । त्यसपछि यादव आफैं नबस्ने भनेर बाहिरिएका थिए । ‘म मतगणनामा बसे पनि नबसे पनि फरक पर्दैन, ’ उनले भने, ‘दलहरुकै कारण मतगणना ढिलो भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस