Latest News

प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपा विजयी

Nepalese Times May 15, 2022 (2 Year ago)    1901 Views

काठमाडौं । चितवनको माडी नगरपालिका वडा नंबर १ मा राप्रपा विजयी भएको छ । सो वडामा राप्रपाका अमित लामाले १४ सय ३३ मत पाएर निर्वाचित भएका छन् ।

लामाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवन चौधरी गुरौले ९ सय ४३ मत पाएका छन् । यस्तै एमालेका टिकाराम सुवेदीले १ सय २६ मत पाएका छन् ।

चितवनको माडी नगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । उनले संघको चुनावबाट यहि क्षेत्रबाट चुनाव जितेका थिए ।

सो वडामा महिला सदस्यमा पनि राप्रपाकी अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र एक खुल्ला सदस्यमामा पनि राप्रपाकै दिपेन्द्र महतो निर्वाचित भए । आर्का खुल्ला सदस्यमा भने नेपाली काँग्रेसका जय नारायण लामिछाने विजय भएका छन् ।

यस्तै नेपाली कांग्रेसको गढ मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्कीको प्यानल नै निर्वाचित भएको हो ।

कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । त्यहाँ यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको थियो ।

राप्रापाले जितेको यो स्थान भारतसँग सिमाना जोडिएको त्रिवेणी धाम हो । ०७४ सालको निर्वाचनमा यो जिल्लामा राप्रपाले एउटा सदस्य पनि जितेको थिएन ।

त्यस्तै झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् । अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भए भने उनकी निकटम् प्रतिद्वन्द्वी काँग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गरिन् ।

त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेणले ८३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन् ।

वडा नं.४ र ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए । कुल २५ हजार ७४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५०१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस