काठमाडौं । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा भाईलाई हराउदै दाजु बिजयी भएका छन्। नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् ।
त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । एमालेको उम्मेदवार विष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत र विष्णुले ५६० मत पाएको विवरण प्राप्त भएको छ ।
यस्तै कपिलबस्तुको बिजयनगर गाउँपालिका १ मा आफ्नै ज्वाईँलाई हराउँदै ससुरा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका ईन्नर थारु आफ्नै ज्वाइँ बुधराम थारुलाई ३७२ मतले हराउँदै वडाअध्यक्ष निर्वाचित भएका हुन् ।
ईन्नरले ८७३ मत पाउँदा बुधरामले ५०१ मत प्राप्त गरेका छन्। इन्नर निवर्तमान अध्यक्ष समेत ह्न्। निर्वाचन परिणामबारे निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।
त्यस्तै भद्रपुर नगरपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६६३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीका मेदनीप्रसाद सिवाकोटीले ५७७ मत प्राप्त गरेका छन् । यो वडामा चार जना सदस्य नै एमालेका उम्मेदवार विजयी भएका छन् ।