काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । मतगणनाको ताजा विवरण आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले बराबर पालिका जितेका छन् ।
निर्विरोध भएकासहित १८ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ७ र नेकपा एमालेले ७ पालिका जितेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले २ स्थानीय तहका जित हात पारेको छ ।
नेपाली कांग्रेसले गुल्मीको गुल्मीदरबार गाउँपालिका, डडेलुधराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।
यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका पनि नेपाली कांग्रेसले जितेको छ ।
यस्तै नेकपा एमालेले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र मनाङको चामे गाउँपालिका जितेको छ ।
एमालेले वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, मुस्ताङको लोमन्थाङ गाउँपालिका , र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका पनि जितेको छ । डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका र डोल्पाको जगदुल्लाह गाउँपालिका जितेको हो भने नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिका जितेको हो । दुबै पालिकामा समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार भोट कटाएका छन् । पछिल्लो परिणामअनुसार शाहले २०७१ मत पाएका छन् । त्यस्तै मेयरमा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाइरहेका छन् ।
यस्तै मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका बागी मेयर उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ८६९ मत पाएका छन् । उनलाई सुरुदेखि नै नेकपा एमालेका शिवशंकार साह ‘हिरा’ले पछ्याउँदै छन् । हिराले ४६१ मत ल्याएका छन् ।
अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २२४ मत ल्याएर तेस्रो स्थानमा छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका जसपाका लालकिशोर साहको अवस्था नाजुक देखिएको छ । निवर्तमान मेयर समेत रहेका उनी मात्र १४५ मतका साथ चौथो स्थानमा छन् ।