चितवन । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता ह्वात्तै बढाएको छ । माडी नगरपालिकाको मेयर पदमा एमाले उम्मर्दवार ताराकुमारी काजी महतोले १,५६९ मत ल्याएकी छिन् ।
यो नगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ऋषिराम काफ्लेले १३८२ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेम महतोले १२६० मत ल्याएका छन् । यस्तै राप्रपाका मदनप्रसाद पौडेलले ५९३ मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८३८ मत ल्याएका छन् । माडीमा ९ वटा वडा छन् । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए । अहिले उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
चितवनको माडीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल भएको छ । राप्रपाले एमालेबाट माडीको मेयरको उम्मेदवार बनेकी ताराकाजी महतोलाई सहयोग गरेको छ भने उपमेयरमा एमालेले राप्रपाका मदन पौडेललाई सहयोग गरेको छ । ्
९ वटा वडा रहेको माडी नगरपालिकामा एमालेले मेयरसहित ४ र राप्रपाले उपमेयरसहित ५ वडा लिने सहमति भएको थियो । माडी नगरपालिकामा राप्रपाको बलियो प्रभाव छ । राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र पर्ने माडीमा यसअघि भएको स्थानीय तहको निर्वाचनमा राप्रपाका मेयर उम्मेदवार मदन पौडेलले ३,०७३ मत ल्याएका थिए ।
गत निर्वाचनमा झिनो मतले मेयर पद गुमाएका माडी कांग्रेसका खेमप्रसाद महतो यसपालि गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका हुन् । महतो अघिल्लोपटक नेकपा माओवादीका उम्मेदवार ठाकुरप्रसाद ढकालसँग जम्मा ४४ मतले पराजित भएका थिए।
यसपालि गठबन्धनले माओवादीका ऋषि काफ्लेलाई मेयरको उम्मेदवार बनाएको छ। माडी नगरपालिकामा गत निर्वाचनमा नेकपा एमाले तेश्रो र राप्रपा चौथो भएकमा थिए।
यस्तै सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएका छन्। जोशी ४ सय ६४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवारले ३ सय ४९ र एमालेका उम्मेदवारले २ सय ६६ मत ल्याएका छन्।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसको अग्रता छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवारले ४ सय ३८ मत ल्याएका छन् भने माओवादीले ३ सय ३३ र नेकपा एमालेले २ सय ९३ मत प्राप्त गरेका छन् ।