काठमाडौं काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५ सय मत कटाएका छन् । तासजा मतपरिणाम अनुसार उनले १५७५ मत प्राप्त गरेका छन् ।
चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १७४३ मत ल्याएकी छिन भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारको ५१६ मत आएको छ । राप्रपाका उम्मेदवारको ४१३ मत आएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् ।
पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।
एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।
खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो।
स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने देखिएको छ ।
यसैगरी ललितपुरको मतगणना पनि भइरहेको छ । ललितपुरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अगाडी छन् ।