काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन् ।
लालचनले ७६० मत ल्याएर विजयी हुँदा एमालेका सन्जयकुमार थकाली ७५८ मा स्तब्ध भए । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।
यस्तै मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।
मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।
लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।
वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएका छन्। जोशी ४ सय ६४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवारले ३ सय ४९ र एमालेका उम्मेदवारले २ सय ६६ मत ल्याएका छन्।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसको अग्रता छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवारले ४ सय ३८ मत ल्याएका छन् भने माओवादीले ३ सय ३३ र नेकपा एमालेले २ सय ९३ मत प्राप्त गरेका छन्
यस्तै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
वडा नम्बर १ को सुरुवाती ४ सय ५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मदवारले १ सय ९० मत प्राप्त गरेका छन्। उपमेयरमा पनि कांग्रेसै अघि छ। उपमेयरका उम्मेदवारले १ सय ९४ मत प्राप्त गरेका छन्।