Latest News

रौतहटको यमुनामाईमा यसरी लुटियो मतपेटिका

Nepalese Times May 13, 2022 (2 Year ago)    911 Views

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड भएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए ।

पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सकिएको छ । मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय चुनाव अन्तर्गत ७७ वटै जिल्लामा मतदान सकिएको हो ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन ।

छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले दाबी गरेको छ । मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् ।

जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।

७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । ​

यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । ​

मतदानका क्रममा देशका कयौँ ठाउँमा झडप भएको छ। केही मतदान केन्द्रमा दलहरुबीच विवाद हुँदा मतपेटिका नै फोडिएको छ। अहिलेसम्म ५५ प्रतिशत शत खसेको आयोगले जनाए पनि देशभरको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस