Latest News

मौन अवधि उल्लंघन गर्दै एमाले प्रचार विभाग प्रमुखले नै मागे यसरी भोट

Nepalese Times May 11, 2022 (2 Year ago)    618 Views

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधि उल्लंघन गर्दै भोट मागेका छन् । उनले भोट माग्दै गरेको भिडिओ मौन अवधिमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरेका छन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ। उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका छन्।

मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न। मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ ।  मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे । याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन ।

यस्तै माैन अवधि बिर्सिँदै केही कलाकारले काठमाडाैं महानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहकाे पक्षमा आज पनि सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो ।

सुरुदेखि नै बालेनको पक्षमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्काले केही बेरअघि ‘भोट फर बालेन’ ह्यासट्यागसहित नयाँ पोष्ट गरेकी छन् । बालेन शाहको एउटा पुरानो पोष्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘बुलेटभन्दा ब्यालेट शक्तिशाली हुन्छ । हामी इतिहासलाई उपेक्षा नगरौं र भविष्यलाई परित्याग नगरौं ।’

एक लाख ३७ हजारभन्दा बढी फलोअर्स भएको आफ्नो पर्सनल अकाउन्टमा स्वस्तिमाले यो स्टाटस लेखेकी हुन् । उनको १२ लाखभन्दा बढी फलोअर्स भएको भेरिफाइड फेसबुक पेजमा पनि यो पोष्ट गरिएको छैन ।

स्वस्तिमाले कलाकारलाई मौन अवधि नलाग्ने सुनेर बालेनको पक्षमा भोट मागेको बताइन् । उनले नेपालप्रेससँग कुरा गर्दै कलाकारले पनि मौन अवधिमा भोट माग्न नपाउने हो र भन्दै अनविज्ञता जनाइन् । उनले भनिन्, ‘राजनीतिक पार्टीले मात्र नपाउने सुनेको थिएँ । हामीले पनि नपाउने हो र ? मलाई त थाहा नभएर शेयर गरेको हुँ ।’

श्रीमान निश्चल बस्नेतले शेयर गर्न मिल्ने बताएपछि शेयर गरेको पनि उनले बताइन् । मौन अवधि शुरु भइसकेपछि पनि अरु कलाकारले पनि जानेर वा नजानेर यस्ता पाेष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस