Latest News

गृहमन्त्री खाँड चितवनमा, भरपुरको मेयरमा बागी दिएका पौडेलले उम्मेदवारी फिर्ता गर्लान् ?

Nepalese Times April 27, 2022 (2 Year ago)    835 Views

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड चितवन पुगेका छन् । असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई सम्झाउन भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाँड चितवन पुगेका हुन् ।

नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएका हुन् ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन पुगेका हुन् ।

सत्ता गठबन्धनबाट महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन मन लिएर आफू चितवन आउनुपरेको बताएका छन् ।

असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरुलाई सम्मान गर्न सकियोस्। गठबन्धन गर्दा कहिलेकाँही आफूले चाहेजस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ ।’

उनले थपे, ‘एक कदम पछाडि पनि हट्नुपर्छ । संविधान र लोकतन्त्रको लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ त्यस्तै खाँणले गठबन्धनका कारण पार्टीका मतदाता नगुम्ने उनले दाबी गरे ।

चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपील गर्ने भन्ने सबैसँग परामर्श गरेर अघि बढ्ने उनले बताए ।

बागी उमेदवारी दिएका उमेदवारले १६ वैशाखसम्म उमेदवारी फिर्ता लिने समय रहेकोले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उमेदवारी फिर्ता लिन आग्रह गरिने उनले बताए । स्वतन्त्र उमेदवारी दिएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस