Latest News

गठबन्धन दलबाट बागी उम्मेदवारी उठेपछि माओवादी प्रमुख सचेतक गुरुङले दिए कडा प्रतिक्रिया

Nepalese Times April 26, 2022 (2 Year ago)    614 Views

काठमाडौं – सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि गठबन्धनका दलहरुबाट बागी दिइएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।

सत्तारुढ दलहरुबीचको सहमति विपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै गुरुङले त्यसलाई हटाउन सक्दो पहल भइरहेको बताए।

मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच समझदारी नजुटे पनि प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हाबी हुन नदिन आफूहरु सचेत रहेको गुरुङको भनाइ छ।

 काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिबादी काँग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गरे।

‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संवाद, छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्नसके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं। कतिपय पालिका र वडास्तरमा दलहरुले आ–आफनो दलको नोमिनेसन गराएका छन्,’ गुरुङले भने, ‘तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ। कथम्‌कदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौं।’

गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस