Latest News

चुनावी तालमेल नमिलेपछि मन्त्री रामकुमारी झाँक्रीले गरिन् यस्तो ट्विट, गठबन्धनमा खैलाबैला

Nepalese Times April 25, 2022 (2 Year ago)    692 Views

काठमाडौं –  जिल्ला–जिल्लामा गठबन्धन दलबीच विवाद बढिरहेको बेला एकीकृत समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।

आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलबीच दम्भ देखिएको बताएकी छन्। ‘गठबन्धनका दलहरूको बीचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं,’ उनले लेखेकी छन्, ‘हाम्रा वार्ता संवादमा केही दम्भ देखियो।’

गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन यसको हिसाब मिलान गर्नुपर्ने देखिएको उनको भनाइ छ।

यता सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम दिन पनि छलफल हुँदैछ।

राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले शीर्ष नेताहरुको बैठक बस्न लागेको जानकारी दिए। ‘जिल्ला तहमा केही ठाउँमा गठबन्धन बनेको र केही ठाउँमा हुन सकेको अवस्था छैन,’ उनले भने, ‘केन्द्रमा शीर्ष नेताहरु बसेर नमिलेका ठाउँमा छलफल गरेर अघि बढ्ने विषयमा कुराकानी हुन लागेको हो।’

७५३ वटै स्थानीय तहमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँचदलीय सत्ता गठबन्धनले केन्द्रबाट महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी टुंगो लगाएका थिए।

तर, जिल्लाका अन्य स्थानीय तह नगरपालिका र गाउँपालिकामा भने केही ठाउँमा केन्द्रको सहमति अनुसार गठबन्धन भए पनि अधिकांश ठाउँमा गठबन्धन हुन सकेको छैन। कतै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल भएको छ भने कतै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तालमेल भएको छ। जसपाको पकड रहेको ठाउँमा एक्लै उम्मेदवारी दिने तयारी गरेको छ।

आज बालुवाटारमा बस्ने बैठकले जिल्ला तहमा निर्देशन दिएर गठबन्धन गरेरै जाने विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि आज मनोनयन दर्ताको अन्तिम दिन भएकाले जतिसक्दो चाडो दलहरुले छलफल टुंगो लगाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस