धादिङ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत धादिङको ज्वालामूखी गाउँपालिका–६ मा मदन आश्रित स्मृती भवन निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सहरी विकास तथा भवन कार्यलय नुवाकोटअन्तर्गत ज्वालामूखी एमालेले आफ्नो पार्टी कार्यलय निर्माणको लागि बजेट पाएको थियो ।
त्यहि बजेटमार्फत ज्वालामूखी–६ देउरालीमा एमालेले भवन निर्माण गरेको हो । तर ज्वालामूखी एमालेले पार्टी कार्यलय स्थापनाका लागि प्रदेश सरकारमार्फत प्राप्त गरेको रकममाथि एमालेकै नेतृत्वबाट दुरुपयोगको प्रयास भएको भेटिएको छ ।
पार्टी कार्यलय स्थापनाका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम ज्वालामूखी एमालेका अध्यक्ष ध्रुव अधिकारीसहितका व्यक्तिहरुको खल्तीमा पुगेको छ । ज्वालामूखी एमालेले उपभोक्ता समितिमार्फत ३० लाख रुपैयाँ बजेटमा मदन आश्रित भवन निर्माण गरेको हो ।
पार्टी अध्यक्षको खल्तीमा ५ लाख
भवन निर्माणपश्चात भुक्तानी गर्नुपर्ने रकममध्ये ५ लाख रुपैयाँ ज्वालामूखी एमालेका पार्टी अध्यक्ष ध्रुव अधिकारीको खल्तीमा पुगेको छ । कामदारको नाममा काटिएको चेक साटेर त्यो रकम अध्यक्ष अधिकारीको खल्तीमा पुगेको हो ।
आफूसँग प्रदेश सरकारमार्फत आएकोमध्ये ५ लाख रुपैयाँ रकम रहेको स्वयं अध्यक्ष अधिकारीलेसमेत स्वीकार गरेका छन् ।
नेप्लिज टाइम्ससँग कुरा गर्दै उनी भन्छन्, ‘मेरो खल्तीमा कामदारले पाउनुपर्नेमध्ये ५ लाख रुपैयाँ रहेको कुरा साँचो हो, कामदारले अपुरो पैसा नलिने भनेपछि त्यो रकम मेरो खल्तीमा आईपुगेको हो । साथिहरुसँग सल्लाह गरेर फिर्ता गर्छु ।’
उनको भनाई अनुसार उनले पार्टी कार्यलय भवन निर्माणका लागि ३ लाख ८५ हजार रुपैयाँको काठको झ्याल ढोका उपलब्ध गराएका छन् । रकम फिर्ता गर्ने समयमा आफूले पाउनुपर्ने ३ लाख ८५ हजार रुपैयाँ कटाएर बाँकी रकम फिर्ता गर्ने उनले बताए ।
नेप्लिज टाइम्स डटकमलाई प्राप्त सूचना अनुसार ज्वालामूखी एमालेको पार्टी कार्यलय निर्माणका क्रममा ज्वालामूखी एमाले सचिव रुद्रमान श्रेष्ठसमेतको मिलेमतोमा आर्थिक घोटला प्रयास भएको छ ।
तर, सचिव श्रेष्ठले भने आफू कुनै पनि हिनामिनामा संलग्न नभएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नै पार्टी कार्यलयको भवन निर्माण गर्दा केही सहजिकरण गरिदिएको हुँ, धादिङको अञ्जान सप्लायर्सलाई भनिदिनेदेखि अरु केही प्राविधिक सहयोगहरु गरेको हुँ । तर, भवन निर्माणका क्रममा कुनै पनि हिनामिना भएको छैन ।’
ज्वालामूखी पार्टी सचिव श्रेष्ठले अबको एक हप्ताभित्र सबै हरहिसाब मिलाउने प्रतिवद्धतासमेत जनाएका छन् । पार्टी कार्यलयको भवन निर्माणको क्रममा आर्थिक हिनामिनाको प्रश्न उठेकोले यसमा आफूहरु निक्कै नै सजग रहेको र अबको हप्ता–दश दिनभित्र सबै समस्या समाधान गर्ने बाटोमा आफूहरु लागेको उनको भनाइ छ ।
जग्गाधनी र कामदारले अझै पाएनन् पैसा
ज्वालामूखी एमालेका अध्यक्षको खल्तीमा ५ लाख रुपैयाँ पुग्दै गर्दा भवन निर्माणका लागि खदिर गरिएको जग्गाको रकम भने अहिलेसम्म भुक्तानी भएको छैन ।
ज्वालमूखी गाउँपालिका–६ देउराली डाँडामा बनेको मदन आश्रित भवनका लागि धनबहादुर शाक्यसँग जग्गा खरिद गरिएको थियो । तर उनले अहिलेसम्म जग्गाको रकम प्राप्त गर्न सकेका छैनन् । भवन निर्माणको जिम्मा पाएकाहरुलेसमेत काम गरेको रकम पाउन सकेका छैनन् । तर एमाले गाउँ पार्टी अध्यक्षको खल्तीमा मनोमानी ढंगले रकम पुगिसकेको छ ।
मदन आश्रित भवनका लागि जग्गा बिक्रि गरेका धनबहादुर शाक्य भन्छन्, ‘खै अहिलेसम्म रकम पाएको छैन, कता के भएको हो मलाई त केही पनि थाहा छैन, आफ्नो जग्गाको पैसा पाउन पाए हुन्थ्यो ।’
जग्गाधनीले जग्गा बिक्रि गरेबापत अहिलेसम्म रकम प्राप्त गर्न नसकेको विषय ज्वालामूखी एमालेको गाउँ पार्टी कमिटिका अध्यक्ष अधिकारीलेसमेत स्वीकार गरेका छन् । उनी भन्छन्, जग्गाधनीले पैसा नपाएको पनि साँचो हो, काम गर्नेहरुले पैसा नपाएको पनि सत्य नै हो, मसँग ५ लाख रुपैयाँ रहेको पनि साँचो नै हो, तर हाम्रो नियतमा खोट छैन ।’ एमाले ज्वालामूखीले पार्टी कार्यलय स्थापनाका लागि धनबहादुर शाक्यसँग ५ लाख रुपैयाँमा जग्गा खरिद गरेको थियो ।
मनोमानी रकम वितरण
ज्वालामूखी गाउँपाटी कमिटिले भवन निर्माण सक्याएर केही व्यक्तिलाई रकम भुक्तानीको क्रममा मनोमानी रकम वितरण गरेकोसमेत भेटिएको छ । उपभोक्ता समितिको बैठक नै नबसी व्यक्तिको घर बनाएर भुक्तानी गरेको जसरी मनपरी ढंगले चेक काट्ने काम भएको भेटिएको हो । अनुगमन समितिका सदस्य जितबहादुर बाँडा भन्छन्, ‘गलत गर्ने नियत हामीहरुको छैन, तर केही गल्तीहरु भएको हुन सक्छ, बसेर छलफल गरेर सच्याएर अघि बढ्छौँ ।’
उनी भन्छन्, ‘उपभोक्ता समितिको बैठक बसेर निर्णय गरेर मात्रै भुक्तानी दिनुपर्ने थियो, अहिले समितिका अध्यक्ष कल्पना सेडाई बिरामी हुनुहुन्छ, उहाँलाई अलि सन्चो भएपछि सबै समस्याको समाधान गछौँ । हामी कसैले पनि गलत नियत राखेका छैनौँ ।’
म फन्दामा परेँ, जोगाईदिनुपर्यो – ध्रुव अधिकारी
नेप्लिज टाइम्सले यो विषयमा प्रश्न गर्दा एमाले ज्वालामूखी गाउँ पार्टी अध्यक्ष ध्रुव अधिकारीले आफू फन्दामा परेकोले एकपटकको लागि जोगाईदिन आग्रह गरेका छन् ।
उनी भन्छन्, ‘मेरो नियत खराब छैन सर, कारणबस कामदारले अपुरो पैसा नबुझ्ने भनेपछि त्यो चेक साटिएर मकहाँ आईपुगेको हो । त्यो रकम मसँग सुरक्षित छ । बरु मैले के गर्नुपर्छ त्यो गर्न तयार छु, यो समाचारले मलाई अप्ठ्यारो बनाउँछ सर, बुझिदिनुहोला ।’ उनी अझै भन्छन्, ‘बरु मैले पाउनुपर्ने रकम पनि नराखी ५ लाख रुपैयाँ नै फिर्ता गर्छु, यो समाचार आयो भने त म बर्बाद हुन्छु सर ।’
एमाले ज्वालामूखी गाउँ पार्टी अध्यक्ष ध्रव अधिकारी जो एक फर्चिचर व्यवसायीसमेत हुन् । आमडाँडा उपभाेक्ता समितीमा आफ्नो मान्छेलाई नेतृत्वमा राखेर वनको नियमभन्दाबाहिर गएर काठ ओसासपसार गर्दै आएको आरोपसमेत उनीमाथि लाग्दै आएको छ ।
जानुपर्ने ठाउँमा पैसा नगएको हो भने गलत भयो- वडा अध्यक्ष सेडाईं
एमालेको पार्टी कार्यलयको भवन निर्माणपश्चात भुक्तानि स्वीकृत कसरी भयो ? भन्ने सवालमा ज्वालामूखी ६ का वडा अध्यक्ष किशोर सेडाइंसँग नेप्लिज टाइम्सले कुरा गरेको छ । मदन आश्रित स्मृति भवन निर्माण सम्पन्न भएको प्राविधिक रुपमा देखिएको कारणले आफूहरुबाट भुक्तानी स्वीकृत भएको ज्वालामूखी गाउँपालिका ६ का वडा अध्यक्ष सेडाईं बताउँछन् ।
उनी भन्छन् – ‘हामीहरुले फिल्डमा गएर हेर्दा पनि भवन निर्माण सम्पन्न भएको देखिन्छ, तर जसका लागि भुक्तानि हुनुपर्ने हो त्यो रकम पार्टी अध्यक्षको खल्तीमा गएको हो भने चाहीँ गलत भयो ।’
(नोट: ज्वालामूखी एमालेका अध्यक्ष ध्रुव अधिकारी, सचिव रुद्रमान श्रेष्ठलगायतसँग यसबारे गरिएको कुराकानीको अडिओ रेकर्ड नेप्लिज टाइम्स डटकमसँग सुरक्षित छ)