Latest News

सहकारीको आवरणमा राजेन्द्र पाण्डेको बदमासी, एनसेलसँग मिलेर १ करोड ५४ लाख गायब

Nepalese Times August 12, 2025 (18 Hour ago)    194 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरीष्ठ उपाध्यक्ष एवम् धादिङका सांसद राजेन्द्र पाण्डेले सहकारीको आवरणमा करोडौं रुपैयाँ रकम अपचलन गरेको भेटिएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको अध्यक्ष रहँदा उनले सहकारीको करोडौं रकम अपचलन गरेको भेटिएको हो । यो सहकारी स्थापनालगत्तै राजेन्द्र पाण्डेको समूहले अस्वभाविक रुपमा घरजग्गा कारोबारको काम सुरु गरेको थियो ।

गरिब, विपन्न र मध्यम वर्गका जनताको स्वास्थ्य सेवा गर्ने उदेश्यले स्थापना भएको सहकारीमार्फत नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई मोहरा बनाएर सहकारीको रकम अपचलन गरेको राजेन्द्र पाण्डेमाथि आरोप छ ।

१२ आना जग्गाको १ करोड ५४ लाख गायब

२०६४ साल भदौ २८ गतेको सहकारीको संचालक समितिको बैठकको निर्णय अनुसार नख्खु ललितपुरमा ८ रोपनी १३ आना २ पैसा जग्गा र त्यस जग्गामा निर्माण भएको भवन ११ करोड ५० लाख रुपैयाँमा खरिद गरिएको थियो ।

यस्तै २०६६ साल वैशाख १० गतेको निर्णयबाट नख्खु ललितपुरमा जग्गा खरिद गरेको नेप्लिज टाइम्सलाई प्राप्त कागजातमा देखिन्छ । २०६६ साल भदौ १३ गतेको निर्णय अनुसार ललितपुर नख्खुमै घरसहितको जग्गा १ करोड ७९ लाख ५० हजारमा सहकारीले खरिद गरेको थियो ।


तर सहकारीले खरिद गरिएका घरजग्गा केही समय नबित्दै बिक्रि गर्न थालेको प्राप्त कागजातमा देखिन्छ । २०७१ साल वैशाख १५ गते बसेको सहकारीको संचालक समितिको निर्णय अनुसार नख्खु ललितपुरको घरजग्गा बिक्रि गरियो । यस्तै नख्खु ललितपुरमै रहेको १६५ आना जग्गा र त्यसमा बनेको घरसमेत जम्मा २९ करोड ५० लाख रुपैयाँमा बिक्रि गरियो ।

तर, यसको १ वर्षपछि २०७१ साल फागुन १४ गते अर्को बैठक बसेर १ वर्षअघि नै बिक्रि भइसकेको जग्गाबाट १२ आना जग्गा कम भएको भन्दै सहकारीको खातामा १ करोड ५४ लाख रुपैयाँ कम रकम जम्मा गर्न लगाईयो । नख्खुको जग्गा दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले खरिद गरेको थियो ।

एनसेलसँग मिलेर सहकारीको खातामा १ करोड ५४ लाख रुपैयाँ कम रकम भुक्तानी गर्न लगाएको भन्दै सहकारीका तत्कालिन अध्यक्ष राजेन्द्र पाण्डेमाथि गम्भीर प्रश्न उठेको छ ।

जग्गा किन्ने समयमा यो विषय उठेको थिएन । तर झण्डै ५ करोड रुपैयाँ रकम बुझिसकेपछि एनसेलले १२ आना जग्गा कम भएको भनेपछि आफूहरुले १ करोड ५४ लाख रुपैयाँ कम गर्न राजी भएको संचालक समितिका तत्कालिन अध्यक्ष पाण्डे स्वयं बताउँछन् ।

रकम कम बुझ्नुको वैधानिक कारण के ?

जग्गा कति क्षेत्रफलको हो भन्ने विषय खरिदकर्ता एनसेल र बिक्रिकर्ता सहकारी संस्था दुबैलाई पहिल्यै थाहा थियो । उनीहरुले सबै कागजात हेरेर नै घरजग्गा खरिदबिक्रिको कारोबार गरेका थिए ।

नख्खु ललितपुरको घरजग्गा एनसेललाई बिक्रि गरे पश्चात १२ आना जग्गा कम भई बिक्रि अघि निश्चित भएको रकमबाट १ करोड ५४ लाख ६५ हजार रुपैयाँ घटाई लिनु पर्ने बैधानिक कारण नभेटिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै जग्गाधनी पुर्जामा उल्लेख भएको क्षेत्रफलभन्दा जग्गाको वास्तविक क्षेत्रफल कम हुन गएको बैधानिक कारणसमेत नभेटिएको सहकारीमाथि अनुसन्धान गर्न बनेको अनुसन्धान टोलीले भेट्टाएको छ ।

यतिसम्म कि राजेन्द्र पाण्डे अध्यक्ष रहेको समयमा सहकारीले स्वतन्त्र भ्यालुएटरबाट भ्यालुयसमेत नगरी एनसेललाई घरजग्गा बिक्रि गर्ने काम गरेको थियो ।

घरजग्गा खरिद गर्ने पक्ष एनसेललेसमेत जग्गाको क्षेत्रफल कम भएकोले बिक्रि अघि निश्चित भएको रकमबाट रकम घटाउन अनुरोध आग्रह गरेको कुनै पनि प्रमाण सहकारीसँग छैन ।


सहकारीको सम्पत्ति हिनामिना पुष्टि
नख्खुमा सहकारीले घरजग्गा खरिद गर्दाको अवस्थामा नै जग्गाधनी पुर्जामा उल्लेख भएको क्षेत्रफलभन्दा जग्गाको वास्तविक क्षेत्रफल कमी भएको हुनसक्ने हालको संचालक समितिको मौखिक भनाई छ ।

तर यो भनाईलाई अर्थपूर्ण ठान्न नसकिने छानबिन समितिको तर्क छ । घरजग्गा खरद गर्दा जग्गाधनी पुर्जामा उल्लेख भएको क्षेत्रफलभन्दा जग्गाको वास्तविक क्षेत्रफलको कमि भएको भए पनि जग्गाको वास्तविक क्षेत्रफल एकिन नगरी घरजग्गा खरिद गर्नु संस्थाको सम्पत्ति हिनामिना नै भएको छानविन समितिको ठहर छ ।

यो जग्गा खरिद गर्दा तत्कालिन संचालक समितिको पदाधिकारी तथा सदस्यहरु र बिक्रि गर्दा तत्कालिन संचालक समितिका पदाधिकारी तथा सदस्यहरुले उक्त घरजग्गा बिक्रि अघि तोकिएको रकमबाट घटाएर लिएको १ करोड ५४ लाख रुपैयाँ २०७१ साल फगुन १४ गतेदेखि हालसम्म चलनचल्तीको ब्याजसमेत गरेर हुन आउने एकमुष्ट रकम तत्काल संस्थाको खातामा जम्मा गर्नुपर्ने छानविन समितिले भनेको छ ।

अन्यथा यदि राजेन्द्र पाण्डेलगायत पदाधिकारीले यो रकम जम्मा नगर्ने हो भने सहकारी ऐनअन्तर्गत कारबाही गर्नुपर्ने ठहर छानविन समितिको छ ।

१२ आना जग्गा कम भएको सत्य हो–राजेन्द्र पाण्डे
सहकारीका तत्कालिन अध्यक्ष राजेन्द्र पाण्डेले पनि १२ आना जग्गा बराबर हुन आउने १ करोड ५४ लाख रुपैयाँ रकम घटाएर भुक्तानी गरेको स्वीकार गरेका छन् ।

एनसेलले सुरुमा बैना बापतको ५ करोड रुपैयाँ सहकारीलाई बुझाएको थियो । तर पछि एनसेलले जग्गा नापेर मात्रै लिने भनेपछि राजेन्द्र पाण्डेहरु नाप्न तयार भए । नापजाँच गर्ने क्रममा जग्गा घटि देखिएपछि आफूहरुले पनि १२ आना जग्गा घटाएर रकम बुझ्न राजी भएको पाण्डेको तर्क छ ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनी भन्छन्, ‘सुरुमा एनसेलले बैना बापतको ५ करोड रुपैयाँ दिएको थियो । तर पछि एनसेलले जग्गा नापेर लिने भन्यो । त्यसमा हामी पनि सहमत भयौँ । जग्गा नाप्ने क्रममा पुर्जामा भएकोभन्दा १२ आना जग्गा कम देखियो । त्यसपछि हामीले पनि १२ आना जग्गाबाट हुन आउने १ करोड ५४ लाख रुपैयाँ कम लिने निर्णय गर्यौँ । यसमा कुनै गलत नियत राखेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस