काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिकाका ४ जना भारतमा बेपत्ता भएका छन् । उनीहरु भारतको उत्तराखण्डस्थित खीरगंगा नदीको माथिल्लो क्षेत्र हुँदै उत्तरकाशी जिल्लाको धराली बजारमा आएको भिषण बाढीमा परि बेपत्ता भएको आशंका गरिएको छ ।
रोजगारीको शिलसिलामा त्यहाँ पुगेका उनीहरु मंगलबारदेखि बेपत्ता भएका हुन् । उत्तरकाँशीस्थित धराली बजारमा ज्याला मजदुरी गर्दै आएका उनीहरु बेपत्ता भएको खबर प्राप्त भएको र अहिले भारतीय प्रहरीसँग समन्वयको काम भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले नेप्लिज टाइम्सलाई बताए ।
बेपत्ता हुनेहरुमा धादिङ ज्वालामुखी गाउँपालिका २ काफलपानीका ५३ वर्षिय लाल बहादुर तामाङ, सोही ठाउँका ६५ वर्षिय छोलामा तामाङ, ५५ वर्षिय फेलामा तामाङ र ४८ वर्षिय सिंह बहादुर तामाङ रहेका छन् । उनीहरु चारै जना गत चैतमा मजदुरीका लागि धराली पुगेको थिए ।
मंगलबार देखि श्रीमानसंग फोनमा सम्पर्क हुन नसकेको भन्दै फेलामा तामाङकी श्रीमती पन्थे तामाङले बिहिबार वडा कार्यालय मैदीमा जानकारी गराएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार वेपत्ता चारैजना उत्तराखण्डमा बाढी आउनु भन्दा एक घण्टा अगाडीसम्म सम्पर्कमा रहेका र बाढी आएको समाचार आएदेखि नै सम्पर्कमा आएका छैनन् । बेपत्ता भएका चारै जनाको खोजीका लागि भारतीय प्रहरीसंग समन्व्य गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।