Latest News

निलकण्ठका मेयर ढुंगानाको मनोमानी, आलिसान घर हुँदाहुँदै नजिकै क्वाटर, करौडौं रकम दुरुपयोग !

Nepalese Times August 6, 2025 (2 Hour ago)    338 Views

धादिङ । भीम ढुंगाना नगरपालिका संघका केन्द्रीय अध्यक्ष हुन् । उनले धादिङको निलकण्ठ नगरपालिकाको प्रमुख पद सम्हालेको ८ वर्ष भयो । उनी केन्द्रीय राजनीतिमासमेत पहुँच राख्नने व्यक्ति हुन् । कांग्रेसका केन्द्रीय स्तरका नेताहसँग उनको हिमचिम राम्रै देखिन्छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर उनले ५ वर्षे कार्यकाल पुरा गरे । अहिले फेरि २०७९ सालको स्थानीय तहको निर्वाचनमासमेत उनै ढुंगाना निर्वाचित भएर दोस्रो कार्यकाल सम्हालिरहेका छन् । यो अवधिमा उनले नीतिगत रुपमै खुलेआम राज्यकोषको दोहन गरिरहेको आरोप लागेको छ ।

घर नजिकै क्वाटर, नगरपालिकाले तिर्छ भाडा

नगरपालिका संघका केन्द्रीय अध्यक्ष एवम् निलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाको पुर्ख्यौली घर धादिङवेशी सदरमुकामबाट नजिकै निलकण्ठ नगरपालिका ८ मा छ ।

यस्तै उनको निलकण्ठ ३ धादिङवेशीको बिचबजारमा अर्को नीजि घरसमेत छ । उनको धादिङमा मात्रै होईन, काठमाडौंमासमेत नीजि आवास छ । यसको मतलव उनी भाडामा बस्नुपर्ने हैसियतका व्यक्ती होइनन् । तर उनले धादिङवेशी सदरमुकाममा रहेको आफ्नै नीजि घरभन्दा १ सय मिटरको दुरीमै अर्को क्वाटर लिएर बसेका छन् । आफ्नै घर हुँदाहुँदै नगरपालिकालाई भाडा तिर्न लगाएर घर नजिकै क्वाटर भाडामा लिएर बसेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

ढुंगानाको घर भएको केही मिटरको फरकमा मात्रै विष्णुमणी श्रेष्ठको घर छ । ढु‌‌गानाको घरबाट विष्णुमणीको घर पुग्ने केही मिनेट मात्रै लाग्छ ।  तर नगर प्रमुख ढु‌ंगानाले आफ्नै घरनजिक विष्णुमणी श्रेष्ठको घर भाडामा लिएर त्यो भाडा नगरपालिकालाई तिराउँदै आईरहेका छन् । नगरपालिकाले २०७४ सालदेखि अहिलेसम्म निरन्तर ८ वर्षसम्म भाडा तिर्दै आइरहेको हो ।

आफ्नो घरमा विगत ८ वर्षदेखि नगरपालिकाका प्रमुख भीम ढुंगाना बस्दै आइरहेको र नगरपालिकाले भाडा व्यहोरिरहेको घरधनी विष्णुमणी श्रेष्ठलेसमेत स्वीकार गरेका छन् । नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले ढुंगाना नगरपालिकाको प्रमुख भएदेखि नै नगरपालिकाले आफ्नो घरको भाडा व्यहोरिरहेको र त्यो क्वाटरमा स्वयं ढुंगाना बस्दै आएको बताएका छन् ।

नगरप्रमुख ढुंगानाको स्वीकारोक्ति
नगरपालिकाका प्रमुख भीम ढुंगानालेसमेत आफू विष्णुमणी श्रेष्ठको घरमा ८ वर्षदेखि बस्दै आइरहेको स्वीकार गरेका छन् । नेप्लिज टाइम्ससँग उनको प्रतिक्रिया छ, ‘म ८ वर्षदेखि विष्णुमणी श्रेष्ठको घरमा बस्दै आएको कुरा साँचो हो, त्यो घरको घरभाडा नगरपालिकाले तिर्दै आएको विषय पनि सत्य नै हो ।’

धादिङवेशीमै मजबुत घर हुँदाहुँदै पनि घरनजिकै छुट्टै अर्को क्वाटर लिएर बस्नुपर्ने केही नीजि बाध्यताहरु भएको नगरप्रमुख ढुंगानाले बताए । तर उनले आफ्नो नीजि बाध्यताबारे भने खुलाउन चाहेनन् ।

व्यक्तिगत या पारिवारिक वाध्यता भएकै कारण नगरपालिकालाई भाडा तिराएर राज्यकोषको दोहन गर्न पाईन्छ त ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यो सबै कुराहरु भेटेर भनौँला भाई । म अहिले फोनमा भन्न सक्दिनँ । बरु दाजुभाई भेटौँ न, के रहेछ सबै बताउँला । यो मेरो बाध्यता हो भाई । मैले गैरकानुनी काम गरेको छैन । म इमानदारिताका साथ काम गर्ने मान्छे हुँ ।’

  

नगरपालिकाले कति तिर्छ भाडा ?
निलकण्ठ नगरपालिकाका कर्मचारीहरुले भीम ढुंगाना बदै आएको क्वाटरका लागि नगरपालिकाले तिर्दै आएको भाडा रकम र सेवा सुविधा खर्चको विवरण लुकाउने प्रयास गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले यसबारे नगरपालिकाका अरु पुराना कर्मचारीसँग बुझ्न भन्दै पन्छिने प्रयास गरे ।

उनी भन्छन्, ‘नगरपालिकाले त्यो घरको भाडा व्यहोरेको लामै समय भयो । नगरप्रमुख ढुंगाना निर्वाचित भएको २०७४ सालदेखि नै नगरपालिकाले भाडा तिर्दै आइरहेको हो । विस्तृतमा मलाई भन्दापनि अरु पुराना कर्मचारीहरुलाई सोध्नुपर्ने भयो । म त अलि नयाँ परेँ । त्यतिखेर म निलकण्ठको कार्यभार सम्हाल्न पुगेकै थिइनँ ।’

नगरपालिकाका सूचना अधिकारी लोकनाथ उपाध्यायलेसमेत सूचना उपलब्ध गराउन आनाकानी गरिरहेका छन् । सुरुमा हेरेर भन्छु भनेका सूचना अधिकारी उपाध्ययले पछि सूचनाको हक प्रयोग गर्न आग्रह गरे । सूचनाको हक प्रयोग गर्न आग्रह गर्नुको कारण थियो सूचना उपलब्ध गराउने समय २२ दिन झुलाउने ।

नेप्लिज टाइम्सका कार्यकारी सम्पादक टेकमान शाक्यसँग कुरा गर्दै उनी भन्छन्, ‘म हजुरलाई हेरेर पठाईहाल्छु सर, बरु यसो गरौँ न एउटा सूचनाको हक प्रयोग गरेर पत्र लेख्नुपर्ने भयो ।’

उनकै आग्रह अनुसार सूचनाको हक प्रयोग गरेर पत्रसमेत लेखिएको छ । तर उनले अहिलेसम्म नगरपालिकाले घरधनी विष्णुमणी श्रेष्ठ या उनका परिवारका अरु सदस्यसँग भएको सम्झौतापत्र र भुक्तानी भएको घरभाडाको विवरण उपलब्ध गराएका छैनन् । घरभाडा रकम ८ वर्षदेखि पालिकाले नै उपलब्ध गराउँदै आएको विषय भने उनले स्वीकार गरेका छन् ।

के भन्छन् घरधनी ?
घरधनी विष्णुमणी श्रेष्ठले नगरपालिकासँग आफूहरुले मासिक २०-२२ हजार रुपैयाँको हाराहारीमा भाडा रकम बुझ्ने गरेको नेप्लिज टाइम्सलाई बताए । उनको भनाइ अनुसार ८ वर्षमा क्वाटर भाडामात्रै २१ लाख रुपैयाँभन्दा बढी रकम नगरपालिकाको खाताबाट खर्च भएको छ । तर उनले दिएको यो जवाफ आधिकारिक होइन । उनले पहिलो दिन अनकनाउँदै भने, ‘महिनाको त्यस्तै २०-२२ हजार रुपैयाँ नगरपालिकाले व्यहोर्दै आइरहेको छ जस्तो लाग्छ, ठ्याक्कै कति रहेछ म हेरेर भन्छु है सर म अहिले बाहिर छु ।’

नेप्लिट टाइम्सले भोलिपल्ट पनि उनै घरधनी श्रेष्ठसँग फेरि कुरा गरेको थियो । तर भोलिपल्ट उनले नगरपालिकातिर नै बुझ्न आग्रह गरे ।
उनले भने, ‘खै हजुर मलाई पनि थाहा छैन नगरपालिकाले कति रकम दिने गरेको छ, उतै सोध्नुहोला है नगरपालिकातिरै ।’ तपाई घरधनीलाई त थाहा हुनुपर्ने हो होइन र ? भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् । अनकनाउँदै फोन काटिदिए ।

ढु‌ंगानाले नगरपालिकालाई क्वाटारको भाडा मात्रै तिराउन लगाएका छैनन्, अरु सेवासुविधासमेत मनलाग्दी लिईरहेको बताईन्छ । नगरपालिकालाई भाडा तिर्न लगाएर बस्दै आएको उनको क्वाटरमा काम गर्ने केही कर्मचारीहरुको सेवासुविधासमेत नगरपालिकाले नै बेहोर्दै आईरहेको छ । यसरी ८ वर्षको अवधिमा नगरपालिकाको रकम दुरुपयोग भएको  भन्दै चौतर्फी विरोध भइरहेको छ ।

कानुनी व्यवस्था के छ ?
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी कानुनलाई हेर्ने हो राज्यले स्थानीय तहका जनप्रतिनिधिलाई नीजि घर हुँदाहुँदै क्वाटर उपलब्ध गराउने विषय कतै उल्लेख भएको भेटिँदैन ।

नगरपालिकाका जनप्रतिनिधिहरुले पाउने सुविधामा बैठक भत्ता, टेलिफोन र मोबाईल खर्च, खाजा खर्च, पुस्तक, पत्रपत्रिका र इन्टरनेट खर्च, समन्वय भत्ता, खानेपानी र बिजुली महसुल, सरसफाई मर्मत, अतिथि सत्कार, स्वदेश भ्रमण भत्ता, विदेश भ्रूमण भत्ता, यातायात खर्च, डिजेल-पेट्रोल खर्च र मोबिल खर्चबारे स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

तर जनप्रतिनिधिको आवासको नाममा घरभाडा उपलब्ध गराउने विषय सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिँदैन । बागमती प्रदेश सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐनमासमेत जनप्रतिनिधि बस्ने आवासका लागि घरभाडा र अरु सेवासुविधा उपलब्ध गराउने विषय उल्लेख छैन ।

हेर्नुहोस् नगरपालिकाका जनप्रतिनिधले पाउने सेवा सुविधाको दायरा

प्रतिक्रिया दिनुहोस