काठमाडौं । जिल्ला मालपोत कार्यालय कास्कीको प्रमुख चिरञ्जिवी पौडेलले पोखराको बाटुलेचौरस्थित जग्गाका पीडितको पैसामा टिकट खरिद गर्ने गरेको भेटिएको छ ।
चर्चित घुस प्रकरणमा चर्चामा आएका पोखराका एक व्यक्तिले खरिद गरिदिएको टिकटमा पौडेलले पोखरा काठमाडौं आउजाउ गर्ने गरेको तथ्य भेटिएको हो ।
पोखरा १६ स्थित बाटुलेचौरमा रहेको तीन वटा नक्सा नम्बरहरु २५, २६, २८ का जग्गाहरु दुर्गादेवि शाहको नाममा पास गरिदिन तत्कालिन जिल्ला, अञ्चल, क्षेत्रीय अदालतले फैसला गरेको थियो ।
फैसला कार्यन्वयनका लागि पीडित दुर्गादेवि शाहका नातीहरु सुरज शाह लगायतले मालपोत कार्यालय र नापी कार्यालयमा निवेदन दिएका थिए । सोही काम गरिदिने भन्दै हाल मालपोत कार्यालय कास्कीको प्रमुखको रुपमा सरुवा हुँदा हाजिर हुने दिनमै पौडेलले पीडितका तर्फबाट एक प्रतिनिधिबाट चार पटकसम्म टिकट लिएको पाइएको हो ।
अख्तियार स्रोतका अनुसार, कास्कीका प्रमुख बनाइएका प्रमुख मालपोत अधिकृत पौडेलले सुरुवातताका पोखरा लिचीबारीको जग्गा शाह परिवारकै नाममा दर्ता गरिदिने आश्वासन दिएका थिए । त्यस क्रममा उनले शाह परिवार निकटका व्यक्तिबाट आर्थिक लाभ समेत लिएका थिए ।
मंसिर, पुस र माघ २०८१ मा उनी काठमाडौं आएर पोखरा जाने क्रममा कम्तीमा तीन पटक अडियो रेकर्ड गर्ने व्यक्तिकै खाताबाट भुक्तानी भएको प्लेन टिकट लिएका थिए ।
सन् २०२४ को नोभेम्बर १३, २०२५ डिसेम्बर २५ मा पौडेलले काठमाडौंबाट पोखरा आउनका लागि टिकट काट्न लगाएको देखिन्छ । त्यस्तै २०२५ को जनवरी ६ मा काठमाडौंबाट पोखरा आउन पनि पौडेलले टिकट मार्फत लाभ लिएको पाइएको छ ।
यस विषयमा प्रतिक्रिया लिन पौडेलको नम्बरमा सम्पर्क गर्दा उनको मोबाइल स्विच्ड अफ छ । भूमि व्यवस्था तथा सहकारी मामिला मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा यो विषय आफूलाई जानकारी नभएको बताए ।
भ्रष्टाचार निवारण ऐन २०५८ ले सार्वजनिक अहोदामा बसेका व्यक्ति वा कर्मचारीले कुनैपनि माध्यमबाट उपहार वा घुष रिसवत लिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्नेछ ।