काठमाडौं । काठमाडौं भ्यूटावर निर्माणको काम यथावत अघि बढ्न दिन उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा निर्माणको काम रोकिएको थियो ।
पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न उच्च अदालतले आदेश दिएको हो । न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार सो आदेश जारी गरेको थियो ।
मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ । सोही प्रकरणमा मेयर साहले अनियमित रुपमा नक्सा पास गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
यसबीचमा बालेनले गठन गरेका छानबिन समितिले पनि गुरागाईँको गल्ती नदेखाएपछि महानगरमा संवादहीनताको अवस्था छ । गुरागाईसँग मेयरको इगोका कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन ।
टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । गत माघमा महानगरले निर्माण कम्पनीलाई काम रोक्न निर्देशन दिएपछि कम्पनीका सञ्चालक अदालत गएका थिए ।