काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया आर्थिक अनियमिततामा संलग्न भएको खुलासा भएको छ । नगरपालिकाका प्रमुख थपलियाले गैरकानुनी ढंगले रकम लिने गरेको तथ्य भेटिएको हो ।
नगरपालिकाका प्रमुख थपलियाले पालिकाको भौचर नम्बर ५२\२०८०\५\६ बाट १ लाख २० हजार रुपैयाँ ऐन विपरित बुझेका छन् । त्यस्तै उनले भौचर नम्बर ८३७\२०८१\२\२८ बाट १ लाख २० हजार रुपैयाँ ऐन विपरित बुझेका छन् । उनले जम्मा २ लाख ४० हजार रुपैयाँ यातायात खर्चवापत भनेर बुझेका हुन् ।
यसरी यातायात खर्चको नाममा रकम बुझ्ने अधिकार नगर प्रमुखलाई छैन । नगरप्रमुख थपलियाले बुझेको २ लाख ४० हजार रुपैयाँ भ्रष्टाचारजन्य गतिविधि भएकोेले फिर्ता गर्न महालेखाले भनेको छ । महालेखाले जारी गरेको प्रतिवेदन अनुसार नगरप्रमुख थपिलियाले बुझेको २ लाख ४० हजार रुपैयाँ नगरपालिकाले असुल गर्नुपर्छ ।
के भन्छ कानुन ?
कोशी प्रदेश गाउँ तथा नगरसभाका सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ जारी गरिएको छ । यो ऐनको दफा ३ को अनुसूची–१ (ख) मा नगरपालिकाका पदाधिकारीले पाउने यातायात खर्चसम्बन्धी व्यवस्था गरिएको छ ।
जहाँ नगरपालिकाका प्रमुखले सवारी साधन पाउने र सवारीसाधन उपलब्ध नभएमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । तर नगरप्रमुख थपलियाले सवारी साधनको सुविधासहित यातायात खर्चबापत मासिक १० हजार रुपैयाँको दरले २ वर्षको २ लाख ४० हजार रुपैयाँ बुझेका हुन् ।
म रकम फिर्ता गर्छु–नगरप्रमुख थपलिया
नगरपालिकाका प्रमुख थपलियाले आफूले ऐन विपरित रकम बुझेको स्वीकार गरेका छन् । नेप्लिज टाइम्स डटकमसँग कुरा गर्दै नगरप्रमुख थपलियाले आफूले त्यो रकम बुझेको स्वीकार गरेका हुन् । महालेखाले नै गलत भएको भनिसकेको अवस्थामा आफूले त्यो रकम फिर्ता गरिदिने उनले बताएका छन् । आफूले यातायात खर्च बापत २ लाख ४० हजार रुपैयाँ बुझेको स्वीकार गर्दै उनले महालेखाले नै भनिसकेपछि फिर्ता गरिदिने बताएका हुन् । उनी भन्छन्, ‘अडिट रिपोर्टले देखाएको रहेछ, हामी तिरिहाल्छौँ त्यो तपाईले भन्नै पर्दैन ।’
नगरवासीले बताए अनुसार नगर प्रमुख थपलिया अरु थुप्रै आर्थिक अनियमितता संलग्न हुन सक्ने आशंका गरिएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुन् । उनी तत्कालिन सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन् ।