काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–५ मा रहेको सरु रुम्बा लामाले सार्वजनिक बाटो मिचेर बनाएको घरलगायत भौतिक संरचना भत्काउने काठमाडौं जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फैसला अनुसार नक्सा मुचुल्कामा उल्लेखित नक्सा नम्बर १६ को कित्ता नम्बर ९९९६ को सार्वजनिक बाटोको जग्गा कब्जा गरेर सरु रुम्बा लामाले घर निर्माण गरेको ठहर भएको छ ।
सार्वजनिक बाटोको जग्गा सार्वजनिक उपयोगको लागि चलन चलाई दिनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतले सार्वजनिक बाटोको जग्गा मिचेर बनाईएका सबै भौतिक संरचनाहरु भत्काउनुपर्ने भनेको हो ।
काठमाडौं जिल्ला आदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासले यो प्रकरणको फैसला २०८१ साल कार्तिक १ गते गरेको थियो भने फैसलाको पूर्णपाठ २०८१ साल माघ २७ गते सार्वजनिक भएको हो ।
यो फैसलामाथि चित्त नबुझेको खण्डमा मुलुकी देवानी कार्यविधि संहिताको दफा २०५ बमोजिम प्रतिवादी सरु रुम्बा लामाले पुनरावेदन गर्न सक्नेछन् । उनले फैसलाको पूर्णपाठ सार्वजनिक भएको ३० दिनभित्र पुनरावेदन दिनुपर्ने कानुनी व्यवस्था छ । यदि उनले पुनरावेदन दिएनन् भने यहि फैसला अन्तिम हुनेछ ।
कसरी हडपियो सार्वजनिक जग्गाको बाटो ?
रामेछापको दोरम्बा गाउँपालिका २ स्थायी घर भएका सरु रुम्बा लामाले काठमाडौंको नागर्जुन नगरपालिका ५ मा रहेका २ वटा कित्ता नम्बरका जग्गा २०७० साल जेठ २० गते खरिद गरेका थिए । उनले दिएको बयान अनुसार कित्ता नम्बर १५१ को १३.८८ बर्गमिटर र कित्ता नम्बर १५२ को ८८.८३ बर्गमिटर गरी जम्मा १०२.७१ बर्गमिटर जग्गा खरिद गरिएको थियो । लामाको भनाइ अनुसार खरिद गरिएको त्यहि जग्गामा २०७१ सालको फागुन १९ गते घर निर्माण गर्न नक्सापासको लागि निवेदन दिएका थिए ।
उनले अदालतलाई दिएको बयान अनुसार २०७१ साल असार २० गते भवन निर्माणको स्थायी इजाजतपत्र लिएका थिए । उनले २०७४ साल साउन ५ गते घर निर्माण गरेर सक्याए । भवनसँगै उनले शौचलयसमेत निर्माण गरे ।
तर, उनले बनाएको घर र भौतिक संरचनाले सार्वजनिक बाटो मिचेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । नागर्जुन–५ मा बस्ने लामाकै छिमेकीहरु धादिङको गंगाजमुना–७ स्थायी घर भएका अशोक कुमार थापा, गोरखाको आरुघाट गाउँपालिका–१ स्थायी घर भएका सावित्री कार्की, बाग्लुङको तमानखोला गाउँपालिका–५ स्थायी घर भएका हेमप्रसाद छन्त्याल, काठमाडौं महानगरपालिका–२० स्थायी घर भएका अञ्जली श्रेष्ठ, नवलपरासीको बर्दघाट नगरपालिका १४ स्थायी घर भएका भाइखु गुरुङ र नवलपरासीकाने बर्दघाट स्थायी घर भएकै शान्ती गुरुङले संयुक्त रुपमा मुद्दा दायर गरेका थिए ।
घर निर्माण भएको ५ वर्षपछि काठमाडौं जिल्ला अदालतमा २०७९ साल वैशाख ११ गते मुद्दा दायर भएको थियो । यहि मुद्दामाथि फैसला गर्दैै अलालतले नक्सा नम्बर १६ को कित्ता नम्बर ९९९६ को सार्वजनिक बाटोको जग्गा कब्जा गरेर सरु रुम्बा लामाले घर निर्माण गरेको ठहर गरिदिएको हो ।
फैसलासँगै प्रतिवादी सरु रुम्बा लामाले पुनरावेदन नदिएको खण्डमा तत्कालै आफूले निर्माण गरेको घर भत्काएर सार्वजनिक बाटोको जग्गा छाडिदिनुपर्ने हुन्छ भने पुनरावेदन दिएको खण्डमा माथिल्लो तहको अदालतले गरेको फैसला अनुसार आदेशको कार्यन्वयन गर्नुपर्नेछ ।