काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । विशेषत भूमिसम्बन्धी अध्यादेशका कारण सत्ता गठबन्धनभित्र खटपट सुरु भएको हो । भूमिसम्बनधी अध्यादेश अस्वीकार गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका हुन् । अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।
बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए । सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए ।