Latest News

सरु रुम्बा लामाले बनाएको ४ तले घर भत्कने, सार्वजनिक बाटो छाड्न अदालतको आदेश

Nepalese Times October 19, 2024 (1 Day ago)    145 Views

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका ५ छकडोलमा सरु रुम्बा लामाले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । सीट नम्बर १०२१०६२०१ मा रहेको कित्ता नम्बर १५२ मा बनेको ४ तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।

सार्वजनिक बाटोमा बनेको घर भत्काई बाटो कायम गरिपाउँ भन्दै शान्ति गुरुङसहितका स्थानीयले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०७९ सालको वैशाख ११ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमासमेत समस्या भएको स्थानीय गुरुङसहितकाले दाबी गरेका थिए ।

त्यहि मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै सरु रुम्बाले अनधिकृत रुपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो । योसँगै सरु रुम्बाले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ ।

सरु रुम्बाले उनका सदियार कित्ता नम्बर १८८ का भाईखु गुरुङको जग्गासमेत हडपेर सौचालय निर्माण गरेको मुद्दा दायरकर्ताको दाबी छ । यस्तै सरु रुम्बाले आफ्नो भौतिक संरचना अनधिकृत रुपमा बनाएर अनियन्त्रित रुपमा पानीका पाइपहरुसमेत बिछ्याउँदै आएका छन् ।

अदालतको फैसलाले ति संरचनाहरुसमेत हटाउनुपर्ने भएको छ । अदालतको यो फैसलासँगै भाइखु गुरुङलेसमेत नापीले आफ्नो कित्ता नम्बरमा देखाएको जग्गाबाहेक अरु जग्गा हडपेको देखिए त्यसलाई छाड्न तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस