Latest News

माओवादी कार्यकर्ताको घरमा बम विस्फोट, २ जनाको मृत्यु

Nepalese Times August 30, 2024 (2 Week ago)    198 Views

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा २ बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक किरण गौतमले जनाए ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको पनि भण्डारीले बताए । ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस