Latest News

सहकारी र अनेक प्रकरण ढाकछोप गर्न मात्रै रवि लामिछाने गृहमन्त्री बनेका थिए : महेश बस्नेत

Nepalese Times August 9, 2024 (6 Month ago)    228 Views

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणदेखि अनेक प्रकरण ढाकछोप गरेर जोगिनका लागि गृहमन्त्री पद चाहिएको आरोप लगाएका छन्।

बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा उनले आईजीपी अमेरिका गएका वेला प्रहरीमा विद्रोह गर्न लगाउने योजनासमेत रास्वपा अध्यक्ष लामिछानेले बनाएको आरोप लगाएका छन्।

‘रवि लामिछानेजीका सहकारी प्रकरणदेखि लिएर अनेक खालका प्रकरणहरुलाई ठाकछोप गरेर आफू बच्न उहाँलाई गृहमन्त्री चाहिएको थियो। त्यो क्रममा उहाँले फाइल खोल्ने होइन कि फाइल सोज्याउने, थन्क्याउने कुरामा उहाँको भूमिका रह्यो‚’ उनले भने‚ ‘पछिल्लो वेला बेचन झालाई पक्राउ गरिसके पछाडि श्याम ज्ञवालीमार्फत् प्रहरीमा विद्रोह गराएर वर्तमान आईजीपीलाई अमेरिका गएकै वेलामा निलम्बन गरेर श्याम ज्ञवालीलाई आईजिपी बनाएर कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्नेसम्मका योजना बनाएको एक्स्पोज भएपछि उहाँसँग कांग्रेस धेरै नै रिसाएको जस्तो देखिन्छ। संसदीय छानबिन समितिले सही प्रतिवेदन ल्याउँदा रवि लामिछाने, जीबी राईजस्ता सहकारीका राष्ट्रिय ठगहरु यसबाट मुक्ति पाउनुहुन्न।’

बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्न लागिएको बताए। उनले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए।

उनले देशमा राजनीतिक स्थिरता दिन कांग्रेस–एमाले सत्ता सहकार्य भएको बताए। उनले एमाले र कांग्रेस चुनावअगाडि अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिबद्ध भएको पनि बताए। उनले निर्वाचनसँग सम्बन्धित कानूनहरु संशोधन गरेर जाने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

‘हामी संविधान संशोधनको एजेण्डासहित छलफल गरिरहेका छौँ। हामी राजनीतिक स्थिरता दिने कुरा गरिरहेका छौँ। समावेशितालाई एमाले-कांग्रेसले कमजोर बनाउन आँटे भन्ने ढंगले प्रश्न उठाइएको छ‚ यो बिल्कुल गलत कुरा हो‚’ उनले भने‚ ‘मूलभूत रुपमा साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्नुपर्छ र कमसेकम एमाले र कांग्रेस चुनावअगाडि अन्य दलहरुसँग सहकार्य नगर्ने र संविधानलगायत निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गरेर जाने र भ्रष्टाचार अन्त्य गर्ने, सुशासन दिन प्रतिबद्ध भएर लागेका छौँ।’

प्रतिक्रिया दिनुहोस