Latest News

डिस्चार्ज भए सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य, तर मिडियामा बोल्न पाएनन्

Nepalese Times August 2, 2024 (4 Month ago)    931 Views

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य डिस्चार्ज भएका छन् । बुधबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन्।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

त्यहाँ सघन उपचार कक्ष आइसियूमा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो। घाइते अवस्थामा फेला परेका क्याप्टेन शाक्यको नाक, आँखामा चोट थियो। त्यस्तै, करङ र मेरूदण्डमा समेत असर पुगेको थियो। अस्पतालकी निर्देशक प्रा।डा। मीना थापाका अनुसार उनको ठूलो शल्यक्रिया गर्नुपरेको थिएन।

क्याप्टेन शाक्यको करङका तीन वटा हड्डी भाँचिएका थिए। तर त्यसको औषधि चलाएर ठीक हुने डा. थापाले बताइन्। शाक्यको मेरूदण्डमा पनि चोट लागेको थियो। एमआरआई गरेर हेर्दा अपरेशन गर्न नपर्ने देखिएको डा. थापाले बताइन्।

तत्काल थप उपचार गर्नुपर्ने अवस्था पनि नदेखिएको र अहिलेलाई औषधि खाएर नियमित फलोअपमा आउँदा ठीक हुने डा. थापाले बताइन्। क्याप्टेन शाक्यको उपचारमा न्युरो सर्जरी टिम, अर्थोपेडिक टिम, नाक,कान घाँटीको टिम, ओप्थाल्मोजीको टिमसहित अन्य विभिन्न टिम संलग्न छन्।

प्रतिक्रिया दिनुहोस