Latest News

त्रिशूलीमा बेपत्ता बस खोज्ने क्रममा १९ किलोको चुम्बक हरायो, अरु सामान पनि बगायो

Nepalese Times July 27, 2024 (1 Month ago)    448 Views

काठमाडौं । १५ दिनअघि चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य गर्ने क्रममा १९ किलो चुम्बक हराएको छ ।

आज मध्याह्नदेखि खोजी कार्य थालिएको थियो। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइएको थियो। १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। तर खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको स्रोतले बतायो। चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको छ। लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार सम्भावित स्थानमा बस रहेरनरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो। सिमलतालबाट देवघाटसम्म खोज्दा पनि बस भेटिएको छैन। सिमलतालबाट देवघाट करिब २० किलोमिटर टाढा छ।

भोलि बिहान भारतीय टोलीले थप खोज्नेरनखोज्ने निर्णय हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘आज केही पनि उपलब्धि भएन। भोलि बिहान भारतीय टोलीले थप खोज्नेरनखोज्ने निर्णय हुनेछ। हाम्रोतर्फको टोलीले समेत थप खोजी कार्य के गर्ने सम्बन्धमा भोलि बिहान मात्रै निर्णय हुनेछ उनले भने। भारतीय टोलीले बिहान अन्तिम प्रतिवेदन दिएर फिर्ता हुने सम्भावना रहे पनि यद्यपि अन्तिम निर्णय भइनसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस