Latest News

उपचाररत युवकको मृत्यु भएपछि धनगढीमा तनाव, अस्पताल तोडफोड

Nepalese Times July 27, 2024 (1 Month ago)    365 Views

धनगढी । उपचाररत एक युवकको मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा अहिले तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएसँगै उनका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्तजनको विरोधले तनाव सिर्जना भएको हो । सामान्य स्वास्थ्य समस्या लिएर आएका उनको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको छ ।

मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको बताए । आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन् । तर अस्पताल प्रशासनले भने लापरबाही नरहेको दाबी गरेको छ ।

अस्पतालमा तनाव सिर्जना भएपछि सुरक्षा बढाइएको छ । स्थिति झनझन उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडूले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको बताए ।

त्यस्तै, अस्पताल तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाइतेहरूको धनगढीकै सारथी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस