Latest News

पशुपतिको ‘कोटीहोम’ धार्मिक रुपमै अवैध, अरबौँ कुम्ल्याएर यसरी भाग्दै छन् ‘महाठग’ महाराज !

Nepalese Times July 26, 2024 (2 Month ago)    647 Views

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा अहिले कोटीहोम चलिरहेको छ । १ महिनासम्म चल्ने कोटीहोमका मुख्य डिजाईनर हुन् अमेरिका पठाउँछु भन्दै युवाहरुसँग करोड ठगेर जेल बसेर आएका विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्य । योे कोटीहोमसम्म आईपुग्दा उनको नामसमेत परिवर्तन भएको छ । उनको अहिलेको सार्वजनिक भएको नाम श्री विजय कृष्णमुर्ति जी महाराज हो ।

एकपछि अर्को नाम फेर्दै ठगी धन्दाको शृङ्खला मच्चाउँदै हिँडिरहेका उनले पशुपतिमा पनि अहिले अर्को एउटा विशाल ठगीधन्दा चलाईरहेको चर्चा छ । धार्मिक विधिलाई नै चुनौती दिनेगरी चलिरहेको एक महिने कोटीहोमको एउटै मात्रै उदेश्य कोसँग कसरी मोटो रकम झार्न सकिन्छ भन्ने नै देखिएको छ ।


सोझासाझा मानिसलाई झुक्यानमा पारेर धेरैभन्दा धेरै पैसा उठाउने उदेश्यले मात्रै प्रेरित यो कोटीहोममा धर्म नभई अपराध भईरहेको पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउँछन् । यो एउटा कोटीहोम नभई महाठगको अभियान मात्रै भएको उनको तर्क छ ।

यो कोटीहोम एउटा विशाल ठगीधन्दा मात्रै हो भन्ने प्रमाणित केही दिनअघिको एउटा दृश्यले पनि प्रमाणित गरिसकेको छ । धर्म कुनै पैसासँग तुलना हुन सक्दैन । थोरै पैसा भएकाहरुले थोरै धर्म कमाउने, धेरै पैसा हुनेहरुले धेरै धर्म कमाउने भन्ने नै हुँदैन ।

तर पशुपतिमा यस्तै देखियो, जसले धेरै रकम दान गर्न सक्छ, उसले ठूलै धर्म कमाउन सकिन्छ भन्दै ठग्ने काम भईरहेको छ । ५ हजार रुपैयाँ दान गर्न भनेर पशुपति पुगेकी ७८ वर्षकी लक्ष्मी सिलवाल नमज्जाले ठगिएकी छिन् । ५ हजार रुपैयाँ मात्रै दान गर्छु भनेर पशुपति पुगेकी एउटी बुढी आमासँग कोटीहोमका धार्मिक ठगहरुले ५ लाख रुपैयाँ लुटेका छन् ।

आफूले सहयोग गरेको ५ लाख रुपैयाँ रकम असाहय र अनाथहरुको लागि जानेछ भन्ने उनको बुझाई छ । तर, दानको रुपमा दिइएको ५ लाख रुपैयाँ रकम उनै विष्णु भण्डारी प्रपन्नाचार्यलगायत धार्मिक ठगहरुको गोजीमा पुग्ने पक्कापक्की नै छ । ७८ वर्षकी लक्ष्मी सिलवाल मात्रै होइन, यसैगरी त्यहाँ पुग्ने कैयौँ भक्तजनहरु ठगिने क्रम जारी छ । धार्मिक आस्था राख्नेहरुले स्वच्छ मनले दान गर्ने गर्छन । तर, पशुपतिक्षेत्रभित्र सल्बलाईरहेका यि धार्मिक ठगहरुले उनीहरुको भावनामाथि खेलवाड गर्दै पशुपतिनाथ मन्दीरलाईसमेत झुक्याउने अखडा बनाईरहेका छन् ।

उसै पनि धर्मको आवरणमा अनेक ठगी धन्दा चलाएर जेलबाट बाहिर निस्किएका कथित धर्मगुरु विष्णु प्रपन्नाचार्यको ग्रान्ड डिजाईनमै एक महिने कोटीहोम चलिरहेको हो । यो कोटीहोम धर्मकर्म गर्ने मनसायले भन्दा पनि धर्ममा आस्था राख्नेहरुको भावनासँग खेलेर मोटो रकम कुम्ल्याउने मुख्य उदेश्यले नै प्रेरित भईरहेको धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।

धार्मिक विधि नै नमिलाई कोटीहोम

यो कोटीहोम संचालन गर्दा कैयौँ धार्मिक विधिहरुसमेत मिलिरहेको छैन । गर्नुपर्ने एउटा, हुनुपर्ने एउटा, त्यहाँ भईरहेको चाहीँ अर्कै छ । यदि धर्म नै गर्न खोजिएको थियो भने हुनुपर्ने विधिहरु सबै लागु गरिन्थ्यो होला । यतिसम्म कि, अहिले काटीहोम लगाउन मिल्ने समय नै नरहेको धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् । धार्मिक विधिलाई नै चुनौती दिएर लगाईएको यो कोटीहोममार्फत कुनै धर्म नभई अपराधकर्म भईरहेको, झुक्याउने, ढाँट्ने, छल्ने र कमाउने धन्दा चलिरहेको उनीहरुको दाबी छ । यो कोटीहोमबाट करोड ओइन, अरबौँ रुपैयाँ कुम्ल्याएर त्यहाँबाट सुईकुच्चा ठोक्ने मनसायले मात्रै कथित धर्मगुरु विष्णु भण्डारीले यतिम्मको ग्रान्ड डिजाईन गरेको विस्तारै खुल्दै गईरहेको संस्कृतीविद्हरुको तर्क छ ।

अनेक ठगी धन्दा मच्चाएको अभियोगमा अदालतले नै कैद सजाय नै तोकेर तँ ठग नै होस् भनेर करार गरेको व्यक्ति, पटक पटक जेल बसेर बाहिर निस्कएका व्यक्ति अहिले फेरि हिन्दु धर्मको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर हिन्दु् धर्ममाथि नै प्रहार गर्दै छन् । उनी २०७६ वैशाख १३ देखि ३१ गतेसम्म डिल्लीबजार कारागारमा बसेका व्यक्ति हुन् ।

त्यतिमात्रै होइन, २०७१ असोज ६ देखि २०७३ चैत्र ४ गते केन्द्रीय कारागारमा, २०६९ कार्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ परि काठमाडौं परिसरमा हिरासतमा बसेका उनी त्यसअघि अर्थात २०६८ फागुन ११ गते र साउन ३२ मा १\१ दिन हिरासत बसेका थिए ।

आफूलाई स्वघोषित महाराज बताउने उनी गुल्मीको धुर्कोट घर भएका व्यक्ति हुन् । उनले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै एक करोड २७ लाख रुपैयाँ ठगी गरेको जाहेरी काठमाडौं प्रहरी परिसर र तत्कालिन अपराध महाशाखमा परेको थियो ।

यहि महाठगको ग्रान्ड डिजाईनमा चलिरहेको कोटीहोममार्फत धार्मिक आस्थामाथि नै खेलेर जसरी हुन्छ अरबौँ रुपैयाँ कुम्ल्याउने धन्दा चलिरहेको छ । ठगीको यो महामेलाबाट अरबौँ कुम्ल्याएर पहिले जस्तै गरेर फेरि पनि गायब भएर बस्ने उनीहरुको पूर्वयोजना छ ।

प्रतिक्रिया दिनुहोस