Latest News

दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, यस्तो छ विगत

Nepalese Times July 24, 2024 (2 Month ago)    549 Views

काठमाडौं । दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो रहेको भेटिएको छ । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको ९–एन–एएमई कलसाइन (9N-AME CRJ 200 ) रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ ।

जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो विमान मर्मतको लागि पोखरा लगिँदै थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । सी–चेक भन्नाले जहाजका सम्पूर्ण पार्टपुर्जा गहिराइमा गएर चेक तथा मर्मत गरिने भन्ने हो ।

‘बम्बार्डियर सीआरजे २००’ टाइपको यो एयरक्राफ्ट क्यानडामा सन् २००३ मा निर्माण सम्पन्न भएको हो । मे २०३३ मा अमेरिकाको एट्लान्टिक कोस्ट एयरलाइन्सले चलाएको यो एअरक्राफ्ट अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्ट एअरलाइन्सले किनेको थियो ।

तीन वर्षपछि जुन २००७ मा नाइजेरियाको एरिक एअरले किनेको थियो । त्यसको वर्ष दिनपछि सन् २००८ मा अप्रिलमा एसए एक्सप्रेसले जहाज किनेको थियो ।

त्यसपछि जनावरी २०१७ मा अमेरिकाकै एरोजेल कम्पनीले जहाज किनेको थियो । त्यसको तीन महिनापछि मार्च २०१७ मा नेपालको सौर्य एअरलाइन्सले सो जहाज किनेर नेपाल ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस