काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार संसदमा विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्ता सहकार्य सुरु गरी प्रधानमन्त्री बनेका ओलीले ६ गते संसदमा विश्वाशको मत लिन लागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र एकीकृत समाजवादी नेकपा एसबाहेक अन्य दलले साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो। प्रचण्डको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रधानमन्त्रीमा ओलीको यो चौथो कार्यकाल हो। ठूलै राजनीतिक फेरवदल नभए ओलीले सदनमा विश्वासको मत पाउने पक्का छ। ओली यसअघि २०७२ असोज २५ गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी समेटेर २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।