Latest News

सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता, यस्तो प्रमाण सार्वजनिक भएपछि रास्वपा कार्यलयमा खैलाबैला

Nepalese Times December 28, 2023 (12 Month ago)    424 Views

काठमाडौं — देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएको छ । ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए ।

उस्तै प्रकृतिका काम गर्ने सर्वसाधारणबीच आर्थिक सहकार्य गर्ने अवधारणाले विकास भएको सहकारीसम्बन्धी कानुनले नाफामूलक कम्पनीमा लगानी गर्न स्पष्ट निषेध गरेको छ । तर, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति तथा सांसदसमेत रहेका लामिछानेको समूहले गैरकानुनी रूपमा सहकारीको पैसा लिएर आफ्नो कम्पनीमा लगानी मात्र गरेनन्, उनीहरूको यो बेथितिले देशभरका आधा दर्जन सहकारीका ५० औं हजार सर्वसाधारणको बिचल्ली भएको छ ।

राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहने गरी २०७७ फागुन ११ मा ग्यालेक्सी टेलिभिजनको घोषणा भएको थियो । टेलिभिजनमा आफूले नगद लगानी नगरेको र काम गरेबापत पसिनाको हिस्सा (स्वेट सेयर) पाएको सार्वजनिक दाबी लामिछानेको छ । तर गोर्खा मिडिया नेटवर्कमा लामिछानेको तर्फबाट कम्तीमा एक करोड रुपैयाँ जम्मा भएको भौचर नै प्राप्त भएको छ । तर, यो लगानी उनको पसिनाको आम्दानीबाट होइन, सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचतबाट गरेको खुलेको छ ।

टेलिभिजन घोषणा भएको दुई महिना अर्थात् २०७८ वैशाख ५ (१८ अप्रिल २०२१) मा ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा लामिछानेका तर्फबाट एक करोड जम्मा भएको छ । यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको थियो । रकम जम्मा भएको ५ महिनापछि २०७८ असोज १५ मा ग्यालेक्सी टेलिभिजन प्रसारणमा आएको थियो भने त्यसको एक सातापछि २०७८ असोज २३ मा गोर्खा मिडिया नेटवर्कले कम्पनी रजिस्ट्रारबाट सेयर लगत पाएको थियो । सेयर किताबअनुसार अध्यक्ष राईको ८५ प्रतिशत र लामिछानेको १५ प्रतिशत सेयर कायम भएको थियो ।

खाता नम्बर ०४०१०१००००५७७ मा रकम जम्मा गर्नेका नाममा रवि लामिछाने, रोशनी गुरुङ लेखिएको छ । रकम ‘ट्रान्सफर’ गर्न सहकारीकै कर्मचारी रोशनीलाई खटाइएकाले भौचरमा उनको पनि नाम भएको वर्तमान अध्यक्ष ओम गुरुङले बताए । रवि लामिछानेबाहेक जीबी राईका तर्फबाट गोर्खा मिडियामा रकम ‘ट्रान्सफर’ गर्न रोशनीसहित सहकारीका कर्मचारी गुञ्जना ज्ञवाली, सुनिता पुन र विष्णुमाया गुरुङलाई खटाइएको थियो । आफूहरूलाई गैरकानुनी काममा लगाएर फसाएको थाहा पाएपछि उनीहरूले अध्यक्ष गुरुङलाई गुहारेका थिए । गुरुङले यसको जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंसहित विभिन्न निकायलाई दिएका छन् ।

‘सहकारीकै कर्मचारी खटाएर गोर्खा मिडिया नेटवर्कबाहेक नेचर नेस्ट प्रालिलगायत राईका विभिन्न कम्पनीमा पनि संस्थाको रकम जम्मा गरिएको भेटिएको छ । हामीले भौचरलगायत विभिन्न कागजात जम्मा गरिरहेका छौं । लेखापरीक्षणपछि पूर्ण विवरण आउने छ ।’

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण कान्तिपुरले यसअघि नै सप्रमाण प्रकाशित गरेको छ । त्योबाहेक पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै एक करोड निकालिएको र कृत्रिम खाता खडा गरेर फर्छ्योट गरिएको देखाइएको थियो, यद्यपि यो रकम सहकारीमा फिर्ता भएको देखिएको छैन । उता, बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको रकम पनि एक करोड मात्र भने होइन । लामिछानेको नाम प्रत्यक्ष लेखिएको बाहेक यो सहकारीबाट १५ महिनामै पटकपटक गरेर १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा लगेको प्राप्त दस्ताबेजहरूबाट देखिन्छ ।

२०७७ असोज ११ मा १ करोड, माघ २९ मा २ करोड ४५ लाख र चैत १८ मा १ करोड ९६ लाख जम्मा भएको छ । त्यस्तै २०७८ वैशाख ५ मा १ करोड, वैशाख ९ मा ३० लाख, असार ४ मा १ करोड, असार २२ मा १ करोड ३ लाख ३६ हजार, असोज १३ मा ५० लाख, पुस १२ मा १ करोड ५० लाख जम्मा गरिएको छ । २०७७ को अन्तिम र २०७८ को सुरुवाततर्फ टेलिभिजन प्रसारणमा ल्याउने तयारी भएकाले उपकरण खरिद, स्टुडियो निर्माणलगायतका पूर्वाधार निर्माणको रकम सिधै सहकारीबाट कम्पनीमा सारिएको देखिन्छ । सहकारीका वर्तमान अध्यक्ष गुरुङका अनुसार अन्य थप रकमसमेत आन्तरिक प्रणालीमा अभिलेख नरहने गरी गोर्खा मिडियामा लगेको हुन सक्छ ।

राईले देशका प्रमुख सहरमा सहकारी खोल्दै रकम संकलन गरेका थिए भने लामिछाने आफैंले सहकारीको सदस्य नभएको बताएका छन् । तर उनीहरूले सर्वसाधारणको बचत निजी कम्पनी गोर्खा मिडिया नेटवर्कमा सारेर तथा हिनामिना गरी गम्भीर वित्तीय अपराध गरेको विज्ञहरू बताउँछन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको भनाइमा सहकारीले गैरसदस्यमा कारोबार गर्न नमिल्ने र त्यसो गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ । ‘विगतमा धेरै संस्थाले गैरसदस्यमा पनि कारोबार गर्दै आएका थिए, अहिले त्यो क्रममा धेरै कमी आएको देखिन्छ,’ उनले भने, ‘सेयर सदस्य नभई बचत गर्न तथा ऋण लिन पाइँदैन, गैरसदस्यले कारोबार गरेको पाइएमा कसुर गरेको मानिने उल्लेख छ ।’

कँडेलले भनेजस्तै सहकारी ऐन २०७४ को दफा ५० मा सहकारी संस्थाले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था छ । ‘सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण कारोबारमा लगानी, फर्म वा कम्पनीको कुनै बैंक (सहकारी बैंकबाहेक) को सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन,’ ऐनमा उल्लेख छ । उल्लिखित कसुर प्रमाणित भए कामको प्रकृति र गम्भीरताका आधारमा बिगोबराबर जरिवाना र जेल सजायसम्मको व्यवस्था छ ।

त्यस्तै, ऐनको दफा १२२ मा कसुर दण्ड जरिवाना र पुनरावेदनसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ‘ख’ मा कानुन विपरीत अन्य कुनै प्रयोजनमा बचत प्रयोग गरेमा बिगोबराबरको रकम जरिवाना तीन वर्षसम्म कैदको व्यवस्था छ । त्यस्तै उपदफा ‘ङ’ मा ऋण असुल हुन नसक्ने गरी रकम हिनामिना गरेमा बिगोबराबर जरिवाना र रकमका आधारमा ८ देखि १० वर्षसम्म कैदको व्यवस्था छ । पोखरा, बुटवल, वीरगन्ज, चितवन, बुटवल र काठमाडौंमा भएका यो बेथितिमा अर्बौं बचत हिनामिना भएकाले यी दुवै उपदफा आकर्षित हुने अवस्था छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की पनि सहकारीले गैरसदस्यलाई र निजी कम्पनीलाई ऋण दिए गैरकानुनी हुने बताउँछन् । ‘सहकारी भनेकै सदस्य केन्द्रित हुनुपर्छ । सदस्यभन्दा बाहिर कारोबार गर्न पाइँदैन, गरे कानुन आकर्षित हुन्छ,’ उनी भन्छन्, ‘सदस्यहरूलाई वित्तीय सहजता होस् भन्ने उद्देश्यले गैरसदस्यमा कारोबार गर्न नपाउने व्यवस्था गरिएको हो ।’ तर लामिछाने र जीबीले विभिन्न सहकारीमार्फत कानुनका यी व्यवस्थाविपरीत कार्य गरेको भेटिएको छ ।

२०५७ सालमा बुटवल दीपनगरका ओम गुरुङसहितका स्थानीयले मैत्री बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । २०७३ सालमा बुटवलमा सहकारी खोल्ने भन्दै जीबी राईसहितको टोली गुरुङको सम्पर्कमा पुगेको थियो । उनीहरूले काठमाडौंमा सहकारी सञ्चालन गरिरहेको र विभिन्न व्यवसायमा पनि लगानी विस्तार गरी ठूलो कारोबार गर्ने प्रस्तावसहित सहकार्यको प्रस्ताव गरे । त्यसपछि नाम परिवर्तन गरेर बन्यो– सुप्रिम बचत तथा ऋण सहकारी । अध्यक्ष बने जीबी राई । त्यतिबेला सहकारीको सञ्चालक समितिमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसमेत सचिव थिए । सदस्यहरूका अनुसार सुरुवातका चार वर्ष जीबी आफैं अध्यक्ष थिए ।

अध्यक्ष राईले आफू र लामिछाने मिलेर ग्यालेक्सी टेलिभिजन चलाउन थालेकाले सहकारीमा समय दिन नसक्ने भन्दै गुरुङलाई सहकारीको अध्यक्ष बनाएका थिए । गुरुङलाई अध्यक्ष बनाए पछि पनि राईले सहकारीका अन्य सञ्चालकमा आफ्नै मान्छे राखेका थिए । आफू निकट भैरहवाका अस्रफ अलीलाई उपाध्यक्ष, ललितपुरका कुमार रम्तेललाई सचिव, नेपालगन्जका आशिष आनन्दलाई कोषाध्यक्ष र सञ्चालकमा पोखराका बुद्धि गुरुङ, नेपालगन्जका धीरजकुमार दास र पोखराका दिनेश रोकालाई राखेका थिए ।

सुप्रिम सहकारीमा सचिव रहेका कुमार रम्तेल तिनै व्यक्ति हुन्, जसले लामिछाने टीभीबाट निस्केपछि २०८० वैशाखमा गोर्खा मिडिया नेटवर्कमा २ करोड ४० लाख रुपैयाँसहितको सेयर लिएको देखिन्छ । उनी यो कम्पनीका उपाध्यक्षसमेत रहेका रम्तेल पोखराको सूर्यदर्शन सहकारीको कोषाध्यक्ष पनि थिए । सूर्यदर्शनको रकम हिनामिनाको आरोपमा गत भदौ २५ मा उनी पक्राउ परिसकेका छन् ।

अध्यक्ष पद छाडेपछि पनि राईले सहकारीमा प्रत्यक्ष हस्तक्षेप गरेर रकम हिनामिना गरेको वर्तमान अध्यक्ष गुरुङ बताउँछन् । ‘म अध्यक्ष बनें, तर निर्णय सबै काठमाडौंबाट राईले सिधै गर्थे,’ उनले भने, ‘सहकारीको व्यवस्थापकका रूपमा उहाँले नै पोखराका सागर केसीलाई राख्नुभएको थियो । केसीले मैले भनेको केही सुन्दैनथे । यसरी करिब एक अर्ब १५ करोड रकम हिनामिना भएको छ ।’ समस्यामा परेपछि झन्डै १ वर्षदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बुटवलको चौराहा र भैरहवास्थित कार्यालयमा बन्द छ ।

तर, बचतकर्ताको हिनामिना प्रकरणमा मुछिएका लामिछानेले भने आफू गोर्खा मिडिया नेटवर्कबाट अलग भइसकेकाले त्यहाँ भएको अनियमितताको जवाफदेही हुनु नपर्ने तर्क गरेका छन् । ‘कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रूपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ?’ प्रश्न गर्दै उनले सेयर लिँदा र हस्तान्तरण गर्दाको लगत सार्वजनिक गरेका छन् । कान्तिपुरले प्रकाशित गरेको र लामिछानेसमेतले सार्वजनिक गरेको सेयर लगतअनुसार उनी २०७८ असोज २३ मा गोर्खा मिडियामा १५ प्रतिशत सेयरको धनी भएका थिए । त्यस्तै उनले २०८० भदौ ११ मा मात्रै सेयर हस्तान्तरण गरेका थिए ।

यो अवधिमा उनी कम्पनीको प्रबन्ध निर्देशक पनि थिए । विभिन्न सहकारीको रकम कम्पनीमा ल्याउनेदेखि आफ्नैतर्फबाट सहकारीको रकम गोर्खा मिडियाको खातामा सार्ने अवधिमा उनी सेयरधनी र प्रबन्ध निर्देशक थिए । यस्तो अनियमिततामा सहकारी ऐन मात्र होइन, भ्रष्टाचार निवारण ऐन २०५९ पनि आकर्षित हुन्छ । ऐनको दफा २३ मा स्पष्ट भनिएको छ, ‘कुनै फर्म, कम्पनी वा संगठित संस्थाले यस परिच्छेदबमोजिम कसुर गरेको मानिने कुनै काम गरेमा त्यस्तो फर्मको हकमा त्यस्ता काम गर्दाको बखत सम्बन्धित हिस्सेदारहरू र कम्पनी वा संगठित संस्थाको हकमा कम्पनी वा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकारीले त्यस्तो कसुर गरेको मानिनेछ ।’

गैरकानुनी काम गरेको व्यक्ति संस्थाबाट अलग हुँदैमा जवाफदेहिताबाट बच्न नसक्ने विषय स्पष्ट पार्दर् ैऐनमा थप भनिएको छ, ‘मुख्य भई कामकाज गर्ने अधिकारी भन्नाले कम्पनी वा कम्पनी वा संगठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रबन्धक, प्रबन्ध निर्देशक वा सोही हैसियतमा कामकाज गर्ने पदाधिकारी सम्झनुपर्नेछ ।’

सहकारीपीडितसँग लामिछानेको गोप्य भेट

निर्माणाधीन नारायणगढ–बुटवल १ सय १३ किलोमिटर सडकमा पैदलयात्रा गर्दै बुधबार साँझ बुटवल आइपुगेका रवि लामिछानेले सहकारीपीडितका प्रतिनिधिसँग गोप्य रूपमा भेटेका छन् । लामिछानेलाई भेट्न झन्डै सयको संख्यामा सहकारीपीडितहरू पुगेका थिए । उनले केही पीडितसँग बुटवल धागो कारखानाको प्रहरी गार्ड रुममा भेटेका थिए ।

भेटमा पीडितहरूका तर्फबाट भक्तिराम भण्डारीले सहकारीमा बचत भएको रकम गोर्खा मिडिया नेटवर्क, जीबी राई र उनका कम्पनीमा गएपछि बुटवल भैरहवाका ८ हजारभन्दा बढी बचतकर्ता समस्यामा परेको गुनासो राखेको बताए । लामिछानेले सुप्रिमको मात्र नभएर सबैको समस्या समाधान सरकारले नै गर्नुपर्ने भन्दै अब बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टीले कुरा राख्ने बताएका थिए । तर, गोर्खा मिडियामा रकम गएको विषयमा उनले केही बोलेनन् ।

लामिछानेले जीबी राईको पाटोबारे थाहा नभएको बताएका थिए । ‘त्यो उनीहरूले चोरेर ल्याए, ढाँटेर ल्याए, मागेर ल्याए, कहाँबाट ल्याए, जहाँबाट ल्याए पनि मेरो कन्सर्न जीबी राई, कान्तिपुर, रवि लामिछानेको कुरा होइन, पीडितको कुरा हो,’ उनले भने, ‘अहिले सञ्चालकले चाहेर पनि रकम फिर्ता गर्न सक्ने अवस्था छैन, त्यो सरकारको जिम्मेवारीको कुरा हो । पोलिटिकल पार्टीको लिडरको हिसाबले मेरो पनि जिम्मेवारी हो । मैले गलत गरेको भए मलाई समाउनुपर्छ नि ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस