Latest News

समाजवादीका केन्द्रीय उपाध्यक्ष एमालेमा प्रवेश, ओलीले गरे स्वागत

Nepalese Times August 22, 2022 (2 Year ago)    516 Views

डा. बाबुराम भट्टराई केही साताअघि खोलेको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी विभाजित भएपछि बाबुरामको समाजवादीतिर लागेका पूर्वमन्त्री चौधरी सोमबार एमालेमा प्रवेश गरेका हुन्। उनलाई जसपाबाट छाडेपछि बनाइएको नेपाल समाजवादीको संस्थापक उपाध्यक्ष बनाइएको थियो।

उनी २०५६ सालमा एमालेबाटै कपिलवस्तु २ देखि प्रतिनिधिसभामा विजयी भएका थिए।

तर उनी २०६३ पछिको मधेस आन्दोलनका क्रममा महन्थ ठाकुर नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए। तर उनी लामो समयपछि एमालेमै फर्किए।

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।

चौधरीसहितलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस