काठमाडौं महानगरपालिकाले महानगरभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ। महानगर प्रमुख बालेन्द्र शाहका स्वकिय सचिव भूपदेव शाहका अनुसार आज नयाँ बानेश्वरबाट पार्किङ क्षेत्रका बेसमेन्ट हटाउन सुरु गरिएको हो।
नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाहको उपस्थितिमा त्यस्ता पसल तथा अन्य संरचनाहरु हटाउन निर्देशन दिइएको हो। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो।
बेसमेन्ट हटाउनका लागि महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट सो काम सुरु भएको स्वकिय सचिव शाहले जानकारी दिए।
महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।
साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।
काठमाडौं महानगरपालिकाले आज बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
‘हामीले नक्सा विपरित प्रयोजन हुँदै आएको अन्डरग्राउण्ड, नक्सा पास भएअनुसार नै प्रयोग गर्न ३५ दिन अगाडि सूचना जारी गरेका थियौं । सो सूचनामा अटेर गरे कानुन बमोजिम अनुसार कारबाही गर्ने बताएका थियौं । सोही अनुसार नै हामी आज अनुगमन गछौं,’ उनले भने ।
मेयर बालेन्द्र साहको सचिवालयका अनुसार बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।
आइतबार काठमाडौं महानगरका मेयर साहले काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक र ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) मिरा चौधरीसँग छलफल समेत गरेका छन् । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छलफल भएको हो ।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।