बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।
साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।
नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
‘अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरीक्षकलाई विभागीय कारबाहीका लागि प्रक्रिया शुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी सुनिल मल्लले भने, ‘उनलाई तत्कालै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ ।’ उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको उनले जानकारी दिए ।
जिल्लाभरि नै अश्लील अर्केष्ट्रा नाच नाच्ने गरिए पनि जिल्ला प्रहरी कार्यालय रौतहटले त्यसलाई रोक्न चासो नदिएको गुनासो छ । एकजना स्थानीयले यस्ता अर्केष्ट्राहरुमा प्रहरी कर्मचारीहरुले नै आर्थिक लाभ लिएर सुरक्षा प्रदान गर्ने गरेको आरोप लगाए ।
बर्दीमा रहेका बेला पदीय आचरणविपरीत उनले स्टेजमा गएर अस्वभाविक रूपमा नाचेको भिडिओमा देख्न सकिन्छ।