पोखरा । स्याङ्जाकी एक युवती पोखरामा मृत अवस्थामा भेटिएकी छन् ।
पोखरा महानगरपालिका वडा नं. १ ट्याक्सीचोक बगरमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ४ की २३ वर्षीया शान्ति शर्मा (नानु) मृत अवस्थामा फेला परेकी हुन् ।
कास्की प्रहरीका अनुसार उनी आइतबार राति ९ः३० बजे आफ्नै कोठाको पंखाको हुकमा सलको पाँसो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्युको कारण खुल्न नसकेको र उनले लेखेको सुशाइड नोट पनि भेटिएकाले अनुसन्धान शुरु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
यस्तै इटहरीकी २१ वर्षीया श्रद्धा घिमिरेले ज्यान फालेकी छिन् । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर ज्यान फालेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।
उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् । आफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
उनले ज्यान फाल्नुभन्दा अगाडि कुनै केटीको लाईफसँग खेल्न हुन्न नि केटा हो भनेर स्टाटस लेखेको भेटिएको छ । एक भिडिओ सामग्रीसहित उनले यस्तो स्टाटस लेखेकोले उनलाई कुनै केटाले चिट गरेको हुन सक्ने आंकलन गरिएको छ ।