Latest News

राष्ट्रपतिलाई टेरेन देउवा सरकारले, नागरिकता विधेयक भोलि नै पास गरिने

Nepalese Times August 17, 2022 (2 Year ago)    553 Views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले भोलि (बिहीबार) का लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउने गरी सापकोटाले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक बोलाएका हुन्।

उक्त बैठकपछि बिहीबारै ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव राख्ने भएका छन्।

त्यसैगरी उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्।

यसअघि नै बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि पठाउने निर्णय गरिसकेको छ।

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुभयो, यो उहाँको संवैधानिक अधिकार हो,’ सत्ता गठबन्धनमा सहभागी एक नेताले भने, ‘अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणिकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको छ।’

प्रतिक्रिया दिनुहोस