काठमाडौं ।
प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको ज्यान गएको छ ।
नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप बाहाने बजार नजिकैको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा नौबहिनी ५ डार्मीकी ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको ज्यान गएको बताइएको छ ।
दिदी बहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइतेमध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने अन्यको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ।
यस्तै जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् ।
दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।
जनपद प्रहरीका डीएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाई अस्पता लैजाने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।
अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरातर्फ गएको थियो । गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ ।