Latest News

भोलि सार्वजनिक बिदा दिने निर्णय

Nepalese Times August 14, 2022 (2 Year ago)    348 Views

काठमाडौं ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कचनकवल १ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक वर्ष साउनको अन्तिम सोमबार स्थानीय मेला लाग्ने भएकाले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन्।

हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गरिएको छ। धेरै मानिसहरूले सोमबार भगवान शिवको पूजा गर्छन्। केही व्यक्ति सोमबार भगवान शिवको लागि व्रत पनि राख्छन्।

सोमबारको दिन केहि उपाय गर्नाले भगवान शिव छिट्टै प्रशन्न हुन्छन् र मनोकामना पूरा गर्छन् भन्ने जनविश्वास रहेको छ । साउन महिनाको सोमबारलाई अत्यन्त महत्वपूर्ण दिन मानिन्छ।

साउन महिनाको अन्तिम सोमबार, काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो लाग्ने गर्दछ ।

भगवान शिवको कृपा पाउनका लागि साउनको सोमबार सबैभन्दा शुभ मानिन्छ । त्यसैले साउन महिनाको हरेक सोमबार खासगरी महिलाहरु र बोलबम तिर्थालुहरु व्रत बसेर शिवको पूजा आराधना गर्दछन् ।

साउन महिनाको अन्तिम सोमबारको महत्व प्रदोष व्रत भएकाले पनि बढेको छ । हरेक महिनाको त्रयोदशी तिथिको दिन प्रदोष व्रत गरिन्छ । शास्त्रका अनुसार प्रदोष व्रत बसेमा दुई गाई दान गरे बराबरको पुण्य प्राप्त मिल्छ ।

प्रदोष व्रतलाई लिएर पुराणमा भनिएको छ, एक दिन जब चारैतर्फ अधर्मको स्थिति हुने छ, अन्याय र अत्याचार बढ्ने छ, मानिसमा स्वार्थभाव अधिक हुने छ, व्यक्ति सत्कर्मको सट्टा नीच कार्यमा संलग्न हुने छ, त्यो समयमा जुन व्यक्तिले त्रयोदशीको व्रत बसेर शिवको आराधना गर्ने छ, त्यो व्यक्तिमा शिवको कृपा हुने छ । यस व्रत गर्ने व्यक्ति जन्म-जन्मान्तरको घेराबाट निस्किएर मोक्ष मार्गमा अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस