काठमाडौं ।
सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । बैठकमा कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेको छ भने गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको ‘डाटा’ को विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
बैठकमा सीट बाँडफाँटको मोडालिटीमाथि छलफल भएको र सैद्धान्तिक रुपमा सहमति पनि भएको माओवादी नेता देव गुरुङले बताए । उनले स्थानीय चुनावको डाटालाई विश्वास गर्न भने नसकिने बताए ।
गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सीट जितेका छन् ती कायम राखेर एमालेले जितेका सीट बाँडफाँट हुने बताए । तर कांग्रेसले भने स्थानीय चुनावलाई मुख्य आधार बनाउन खोजेको छ । यसको टुंगो साउन ३० गते बस्ने कार्यदल बैठकले लगाउनेछ ।
गुरुङले भने, ‘मोटामोटी अहिलको संसदको उपस्थितिलाई ध्यानमा राखेर त्यसको सेरोफेरोमा हुन्छ । स्थानीय तहको निर्वाचनको डेटाहरु मिल्दैन । एउटै निर्वाचनलाई मात्रै अन्तिम रुपमा डेटाबेस बनाउन कठिन छ । त्यस्तैले सदनमा उपस्थितिको आधारमा, समानुपातिक मतलगायतयलाई सहमतिको मोडालिटी बनाइएको छ ।
त्यस्तै, कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल भएको बताए ।
उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक सकारात्मक भयो । विभिन्न मोडालिटीमा कुराकानी भयो । चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ,’ उनले भने ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।