Latest News

तपाईको यो हप्ता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

Nepalese Times August 2, 2022 (2 Year ago)    512 Views

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा पहिलेको वचन पूरा गर्न नसक्दा केही आलोचित बन्नुपर्ला। अरूको विषयमा चासो लिँदा समस्यामा पारिनेछ। तापनि मिहिनेत गर्दा प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। सप्ताहान्तमा केही विवादमा पारिने सम्भावना छ, अलि सजग रहनुहोला।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। सामान्य फाइदा भए पनि अरूका लागि उपयोग भइने सम्भावना देखिएकाले शुभचिन्तकहरूको सुझाव मनन गर्नुहोला। मंगलवारदेखि अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बीचमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्ने समय रहेकाले खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा खर्च बढ्नेछ र आफ्नै वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मंगलवारदेखि काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइ टाढिनाले दु:ख पाइनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। तापनि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले सामान्य कामबाट राम्रो लाभ दिलाउनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। बिहीवारदेखि पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला, सप्ताहान्तमा परिस्थितिमा सुधार आउनाले स्थितिमा सुधार आउनेछ। अध्ययनमा पनि प्रगति गर्न सकिनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्वपूर्ण काम बन्नेछ। पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। काममा धेरै सहयोगीहरू जुट्नेछन्। बिहीवारदेखि प्रतिस्पर्धीहरूले आफ्ना कमजाेरीकाे फाइदा उठाउन सक्छन्। सप्ताहान्तमा आफन्तबाटै सजग रहनुहोला।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। पहिलेकाे काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा व्यापार बढ्नाले राम्रो आम्दानी हुनेछ। नाेकरीमा पनि फाइदा हुनेछ। मंगलवारदेखि खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला। बलजफ्ती गर्दा काम झन् बिग्रन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ भने टाढिएका आफन्तजन नजिकिनाले प्रसन्नता मिल्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा लाभ मिल्नुका साथै नाम, दाम र इनाम हातपार्न सकिनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउनुका साथै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। पहिलेको मेहनतले आम्दानी पनि बढाउनेछ। तर, हातमा आएको वस्तु तत्काल गुम्नाले पछुताउनुपर्ला। सरसापटमा धन बाहिरिने सम्भावना छ। आकस्मिक खर्च बढ्नुका साथै आयस्रोत कमजोर हुने देखिन्छ। रकम अभावले सताउन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यस्तताका बीच कामको जिम्मेवारी झन् बढ्न सक्छ। तापनि, समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। राजनीति र नोकरीमा प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। पहिले रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। सप्ताहान्तमा भने आकस्मिक खर्च बढ्नेछ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अरूका लागि समय खर्चनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोग गर्नेहरू जुट्नेछन्। बीचमा केही विवादास्पद काममा अलमलिनुपर्ला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्य फाइदा हुनेछ। घुमफिर तथा मनोरञ्जनको योजना बन्नेछ। मंगलवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। काममा बलजफ्ती गर्दा हानि हुन सक्छ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउलान्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। उपहारका साथ नयाँ सम्बन्धको प्रस्ताव प्राप्त हुन सक्छ। तर गाेपनीयतामा ध्यान नदिँदा आफ्ना विषयमा अरूले दाबी गर्नेछन्। व्यापारमा पनि समस्या आइपर्ला। मनको डरले सताउन सक्छ। मालमत्ता हराउन सक्छन्। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउला। सानो काममा अलमलिनुपर्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला।

प्रतिक्रिया दिनुहोस