काठमाडौं ।
डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।
वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।
जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ ।
यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् ।
‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ ।
उनै महाविर पुनले अबको ५ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । सामाजिक संजालमार्फत उनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा आवश्यकता परे उम्मेदवारी दने घोषणमेत गरेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि आफू नेतृत्वमा आउन सके भनेजस्तो काम गरेर देखाउन सक्ने दाबीसहित उनले स्टाटसमा ह्याट्याग पर्यटन लेखेका छन् ।
उनले लेखेका छन्, – आगामी गा.पा. चुनाबमा अन्नपुर्ण गाउँपालिका म्याग्दी बाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र आबश्यक परे उठिन्छ पनि #पर्यटन । स्थानीय तहको चुनाव भर्खरै सकिएको छ ।