काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले बताए ।
“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।
प्रदीप गिरी राष्ट्रियस्तरमा जति चर्चित छन्, स्थानीयस्तरमा पनि उनी चर्चित नेता नै हुन् । मधेस आन्दोलनका बेला उनको भूमिका आन्दोलनकारीको पक्षमा थियो ।
गिरी कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेताका रुपमा चिनिन्छन् । गिरी २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्वर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए ।
प्रदीप गिरीे अधिकांश समय काठमाडाैंमा बस्छन् । उनले आफू काठमाडाैं बसे पनि मधेसी जनताको हक र अधिकारको कुरा सबैभन्दा बढी आवाज आफूले उठाएकाले मधेसी जनताले जिताउने विश्वास व्यक्त गरेका छन् ।