काठमाडौं।
आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।
उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए ।
नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए । उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे।
उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।’
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।
खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ। मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’
उनले प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको समेत बताए । शुक्रबार र शनिबार बस्ने प्रेस सेन्टरको केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने तयारी छ ।