Latest News

जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने मिति तोकियो !

Nepalese Times July 29, 2022 (2 Year ago)    615 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।

छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएपनि निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने उनले बताए । उनले बरू आफू पुनः मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्मा अहिलेसम्म केही नबोलेको बताए । यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाई छ ।

बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।

चुनावको मिति घोषण हुनुभन्दा पहिले जनार्दन शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुपर्ने दबाब प्रधानमन्त्री देउवामाथि रहेको छ । शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुपूर्व नै चुनावको मिति घोषणा भएमा उनको सरकारमा जाने बाटो बन्द हुने भएकोले १–२ दिनका लागि मिति घोषणा गर्ने काम रोकिएको स्रोतले जनाएको छ ।

उनलाई अर्थमन्त्रीमा पुनः नियुक्ति गर्ने बाटो खोल्नका लागि नै उनीमाथि छानबिन गर्न बनेको समितिले हतार हतारमा काम भ्याएको छ । समितिको अन्तिम बैठक पनि बुधबार सकिएको छ ।

जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ ।

प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएसँगै जनार्दन शर्मा अर्थमन्त्रीमा पुनर्वहाली हुने र त्यसलगत्तै चुनावको मिति घोषणा गर्ने तयारी भएको हो । सम्भवत आज या भोलिसम्ममा शर्मालाई निर्दोष ठहर गरेर पुनर्वहाली गर्ने र त्यसपछि चुनावको मिति घोषणा गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस