Latest News

एमसीसी पारित गराउन धम्की दिने अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल किन आउँदै ?

Nepalese Times July 28, 2022 (2 Year ago)    445 Views

काठमाडौं ।

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बिहीबार) साँझ नेपाल (काठमाडौं) आउँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन्।

उनले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ। सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही समयपछि लु काठमाडौं आउन लागेका हुन्।

आज साँझ काठमाडौं आइपुग्ने लुले भोलि शुक्रबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ।मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने पत्र पठाउने निर्णय गरिको भए पनि अहिलेसम्म पत्राचार गरिएको छैन।

देउवा जुलाई मध्यदेखि अन्तिम सातासम्म वासिङ्टन जानेगरी गृहकार्य भए पनि सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेसँगै तत्कालका लागि भ्रमण स्थगन भएको हो। एसपीपीमा अघि नबढ्ने नेपालको निर्णयप्रति अमेरिका असन्तुष्ट बनेको बताइएको छ।

यहीबीच अमेरिकी अधिकारी नेपाल आउने भएका हुन्। उनको भ्रमणमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे छलफल हुनसक्ने अधिकारीहरुको भनाइ छ।

गत साता परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणका लागि एउटा प्रस्तावित मितिमा गृहकार्य भए पनि त्यसबारे औपचारिक निर्णय नभएको बताएकी थिइन्। तर उनले प्रस्तावित मिति खुलाएकी थिइनन्। अमेरिकी सहायक विदेश मन्त्री लु दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्रीसमेत हुन्।

यसैबीच संसदीय समितिले सरकारलाई एसपीपी अस्वीकार गरेको पत्र नपठाउनाको कारण माग गरेको छ। बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको छ।

उनी  एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए । गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

र, उनले त्यतिबेला एमसीसी अनुमोदन नगरे राम्रो नहुने भनेर मा धम्की दिएको समाचार सार्वजनिक भएको थियो र त्यसको चीनले प्रतिवाद समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस