काठमाडौँ ।
बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी प्रदर्शन गरेका छन् ।
नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले प्रमुख शाहविरुद्ध नाराबाजी गरेका हुन् ।
नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू आन्दोलित बनेका हुन् ।
महानगरले पछिल्लो समय अन्य विभिन्न सडकको छेउमा व्यापार गर्दै आएका व्यवसायीहरुका सामान उठाउँदै आएको छ । महानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान सुरु गरेसँगै अब काठमाडौं फुटपाथ व्यापार मुक्त शहर बन्ने भएको छ ।
राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ।
साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ।
फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्क गर्न र रोक्न समेत कठिन हुने गरेको चालकहरु बताउँछन्। दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन्।
सटरमा व्यापार गर्नेहरुले पुराना र स्टक सामान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन। प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै। सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ। त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ।
काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन्। नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन। तर, दिनभर भने सडक व्यापार प्रतिबन्धित छ।
हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ। साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन्। र, त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन्।