Latest News

३ किशोरी झुण्डिएको अवस्थामा फेला परेको घटनामा प्रहरीले निकाल्यो यस्तो निष्कर्ष

Nepalese Times July 27, 2022 (2 Year ago)    582 Views

काठमाडौं ।

झापाको कचनकवल गाउँपालिका–५ पाठामारी दल्लेगाउँका तीन किशोरीहरूले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

तीन जना किशोरीहरू एउटै रुखको हाँगामा झुण्डिएको घटनाले अनेक आशंका उब्जाए पनि अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म आत्महत्याबाहेक अन्य ठोस कारण फेला पार्न नसकेको जनाइएको हो ।

गत आइतबार स्थानीय झिङ खोलाको किनारमा रहेको बयारको रुखको हाँगामा झुण्डिएको अवस्थामा नजिकैको सुनकोशी चिया बगानमा काम गर्दै आएका १६ वर्षीया करिना गणेश, १७ वर्षिया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेशको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले अहिलेसम्म घटनामा शंकास्पद कुराहरू केही प्राप्त नभएको बताए । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै प्रहरीको तर्फबाट गर्नुपर्ने अनुसन्धान भइरहेको जानकारी दिए ।

‘केही छैन, शंकास्पद केही छैन, हामी अझै हेरिरहेका छौं, अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आउँछ त्यसपछि थप अनुसन्धान हुन्छ, अन्य चिजहरूको हिसावमा केही कुरा आएको छैन ।’

शनिबार अपरान्हदेखि परिवारसँगको सम्पर्कमा नरहेका उनीहरू आइतबार बिहान चिया बगानमै काम गर्ने साथीहरूले रुखमा भुण्डिएको देखेपछि गाउँलेहरूलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा मृतक किशोरीहरूका अभिभावक, चिया बगानमा काम गर्ने अन्य मजदुरहरू लगायत धेरैजनासँग सोधपुछ गरिसकेको जनाइएको छ ।

तर उनीहरूको हत्या भएको हो कि भन्ने हिसावले कुनै पनि तथ्य अनुसन्धानका क्रममा बाहिर आउन नसकेको जनाइएको छ ।

एउटै गाउँका तीन किशोरी सामुहिकरूपमा झुण्डिएको देखेका स्थानीयहरू भने घटनामा अझै केही कुरा खुल्ने आशमा बसेका छन् ।

वडा सदस्य कृष्णप्रसाद गणेशले एकैचोटी तीनजना झुण्डिएर आत्महत्या गरेको कुरा पत्याउनै कठिन भएको बताए । अझै पनि थप तथ्यहरू बाहिर आउनेमा आफूहरू आशावादी रहेको जानकारी दिए ।

मृतक तीनैजनाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो ।

प्रहरीले पोष्टमार्टममा संलग्न चिकित्सकसँग टेलिफोनबाट प्रारम्भिक जानकारी लिएको र चिकित्सकले आत्महत्या बाहेकका अन्य कुनै पनि शंकास्पद जानकारी पोष्टमार्टमका क्रममा फेला नपारेको जनाइएको छ ।

पोष्टमार्टम सकिएका कारण शवको धार्मिक संस्कार अनुसार सद्गद् भइसकेको कचनकवल गाउँपालिकाका उपप्रमुख नवराज भट्टराईले जानकारी दिए । मृतक अञ्जलीको काजक्रियामा उनका दाजु धमेन्द्र, कल्पनाको दाजु कुमार र करिनाको उनका बुबा पुवालु बसेका छन् ।

भारतीय सीमा नजिकको दल्ले गाउँका अति विपन्न गणेश (गनगाँई) परिवारमा छोरीहरूको काजक्रिया गर्न समेत आर्थिक अभाव भएको छ ।

उनीहरूलाई गाउँपालिकाले तत्कालका लागि एक बोरा चामलसहित केही खाद्यान्न सहयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस