काठमाडौं ।
बहुदलीय व्यवस्था पुर्नस्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि गृहजिल्ला डडेल्धुराबाटै चुनाव लड्दैछन् । उनी जिल्लाबाट अहिलेसम्म चुनाव हारेका छैनन् । ०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आएका छन् ।
देउवाले डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै आएका छन् । उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । र प्रधानमन्त्री पदबाटै चुनाव लडिरहेका छन् ।
अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । ०४८ देखि ०७४ सालसम्म भएका ५ वटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई कसैले रोक्न सकेन ।
०५१ सालको मध्यावधि चुनावका बेला कांग्रेस दोस्रो दलमा खुम्चिँदा होस् वा ०६४ मा देशैभर माओवादीको चर्चा हुँदा पनि देउवाको चुनावी भेललाई रोक्न कुनै दल र उम्मेदवारहरु सफल भएनन् ।
०४८, २०५१ र ०५६ को प्रतिनिधिसभा एवं ०६४, ०७० र ०७४ को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले ०४८ यताका सबै निर्वाचन जित्ने नेताका रुपमा रेकर्ड कायम राख्न सफल भएका छन् ।
२०७४ सालको चुनावमा जस्तै यो पटक पनि वाम गठबनधनको चर्चा सुरु भएको छ । ७४ को चुनावमा वाम गठबन्धन हुँदासमेत देउवा विजयी भएका थिए ।
तर अहिले, उनीसामू वाम गठबन्धनमात्रै नभए अरु कारण पनि चुनौती थपिँदै गएको छ । उनका पूर्व स्वकिय सचिवले नै उनीविरुद्ध उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
नेपाली कांग्रेसबाट निकालिएपछि नेपाली कांग्रेस (विपी) तिर लागेका नेता कर्णबहादुर मल्लले यो पटक शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने मिसन सुरु गरिसकेका छन् ।
उनले आफूलाई बनाउन जति सभापति शेरबहादुर देउवाको योगदान छ त्यति नै देउवालाई बनाउनको लागि आफ्नो पनि योगदान रहेको दाबी गर्दै अबको निर्वाचनमा डडेलधुराका जनताले देउवालाई अस्विकार गर्ने दाबीसमेत गरेका छन् ।
यस्तै प्रधानमन्त्री देउवाका लागि गुल्मीका सागर ढकाल पनि चुनौतीका पात्र बन्ने भएका छन् । उनले देउवाले जहाँ उम्मेदवारी दिन्छन्, त्यहिँबाटै आफ्नो उम्मेदवारी रहने भन्दै अभियान सुरु गरिसकेका छन् ।
पाँच वर्ष अघि देउवाले प्रधानमन्त्री रहेकै बोला बीबीसीको साझा सवाल कार्यक्रममा ढकाललाई झपारेका थिए । प्रधानमन्त्री देउवा विरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने उद्घोषण गरेका सागर ढकाल त्यसको तयारीका लागि डडेल्धुरा प्रस्थान गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवा विरुद्धको निर्वाचनमा होमिन डडेल्धुरा प्रस्थान गरेको जानकारी दिएका छन् ।