Latest News

कांग्रेसबाट निकालिएका मल्ल अर्को पार्टी प्रवेश गर्दै, आजै महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने

Nepalese Times July 27, 2022 (2 Year ago)    476 Views

काठमाडौं ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल आज नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्दै छन्। गंगबु आवास क्षेत्रनजिक आज दिउँसो १ बजे हुने पार्टी प्रवेश कार्यक्रममा मल्ल नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्ने भएका हुन्।

मल्ललाई आजै महामन्त्री पदमा मनोनयन गर्ने सम्भावना छ। मल्लले भने, ‘पार्टीले जुनसुकै भूमिका दिए पनि स्वीकार्छु। अहिले नै यो वा त्यो पद भन्ने निश्चित छैन।’

उनले स्थानीय तह निर्वाचनमा डडेल्धुराम कांग्रेस बीपीलाई सघाएका थिए।कांग्रेस बीपीले डडेल्धुरामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।

गत स्थानीय तहको निर्वाचनमा मल्ललाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले पार्टीबाट निकालेको थियो। डडेल्धुरा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।

मल्ल देउवाविरुद्ध चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् । मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने निर्णय लिइसकेका छन् ।

उनी लामो समयदेखि चुनावी तयारीका साथ बसेका थिए । नेपाली काँग्रेस डडेलधुरा जिल्ला पूर्वसभापति समेत रहेका मल्लले देउवा समूहसँग असन्तुष्ट भएपछि पार्टीभित्र विद्रोह गरेका थिए । उनीमाथि पछि कारबाहीको निर्णय समेत भएको थियो ।

प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनका क्रममा डडेल्धुराबाट उम्मेदवार बनेका शेरबहादुर देउवाका चुनावी प्रचार कार्यक्रममा कर्ण मल्लले गीत गाएर कांग्रेसका उम्मेदवारलाई मत मागेका थिए। त्यस समय कर्ण मल्लले विद्यालय तहकै पूरा गरेकै थिएनन्। मीठो स्वरमा गीत गाउने मल्लको कलाले देउवालाई प्रभावित बनायो।

पहिलो पटक संसदीय निर्वाचन जितेपछि देउवा कांग्रेस नेतृत्वको सरकारका गृहमन्त्रीसमेत बने। गृहमन्त्री बनेका देउवाले जिल्लाको राजनीतिलाई चलायमान बनाउनका लागि देउवाले चतुर र राजनीति बुझेको कार्यकर्ता खोजी गर्न थाले। चुनावी कार्यक्रमकै दौरान नजरमा परेका मल्ललाई देउवाले राजनीतिमा अघि बढाउन थाले।

२०५४ सालमा भएको जिल्ला विकास समितिको निर्वाचनमा अन्य सिनियर नेता हुँदाहुँदै देउवाले मल्ललाई उपसभापतिको उम्मेदवार बनाए। सभापतिको उम्मेदवार गोविन्द बोहरा थिए भने सानै उमेरमा जिल्ला विकास समितिको उपसभापतिको उम्मेदवार बन्‍ने अवसर मल्ललाई जुर्‍यो।

मल्लकै कारण २०५४ को जिविसको निर्वाचन कांग्रेसले हारेको आरोप लाग्‍यो। मल्लले कांग्रेसलाई धोका दिएको कुरा देउवासमक्ष पुगे पनि देउवाले आफूले उठाएको उम्मेदवारको विषयमा खासै टिप्पणी गरेनन्।

उक्त निर्वाचनअघि नै २०५२ साल भदौमा नै देउवा प्रधानमन्त्री भइसकेका थिए। २०५३ मा प्रधानमन्त्रीबाट पदमुक्त भए पनि मल्ललाई आफ्नो सहयोगीका रुपमा साथमै राखेका थिए। मल्लले चुनाव हारेपछि देउवाले उनलाई काठमाडौं ल्याएर आफ्नो सहयोगी बनाएका थिए। दुई पटक संसदीय चुनाव जितिसकेको, गृहमन्त्री र प्रधानमन्त्री भइसकेको व्यक्तिको सहयोगी बनेपछि मल्लले शक्तिको महत्व थप बुझ्दै गए।

उनले जिल्लामा पनि आफ्नो प्रभाव बढाउँदै लगे। २०५८ मा देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि मल्ल प्रमुख स्वकीय सचिव बने। २०५९ असोजमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० स्थापना भएपछि पनि मल्ल देउवासँगै रहेका थिए। त्यस समय तत्कालीन संस्थापन कांग्रेसलाई मल्लले निकै दुस्ख दिएको डडेल्धुराकै एक नेताले बताएका छन्। ती नेताले भने, पार्टी विभाजन भएपछि मल्लजी देउवासँगै रहनुभयो। उहाँलाई सत्ता र शक्तिको नजिक रहने बानी परिसकेको थियो र अर्को कुरा देउवाले नै उहाँलाई लिफ्ट गरेको कारण पनि नैतिकताका आधारमा उहाँ प्रजातान्त्रिकमै रहनुभयो। तर, हामी संस्थापन कांग्रेसमा रहनेलाई भने उहाँले डडेल्धुरामा रहेका माओवादी लगाएर भए पनि दुस्ख दिन थाल्‍नभयो।

पछि मल्लकै कारण डडेल्धुराका कांग्रेसका नेता(कार्यकर्ताहरुले दुस्ख पाएको गुनासो बढ्दै गयो। अन्यसँग मिलेर देउवालाई नै धोका दिन थालेको र देउवालाई नै बदनाम गराउने गतिविधिमा संलग्‍न भएको आरोपसम्म लाग्यो। त्यस समय देउवालाई राजाले थुनामा राखेका थिए। हिरासतमै रहेको समयमा देउवाले रघुवर भट्टलाई भनेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न निर्देशन दिए। उक्त निर्देशन अनुसार मल्ल प्रजातान्त्रिक कांग्रेसको सदस्यबाट निष्कासित भए।

प्रतिक्रिया दिनुहोस